खप्तडी बुढाथोकी क्षेत्री सेवा समाज झापाको चौथो जिल्ला अधिवेशन सम्पन्न, योगेन्द्र बुढाथोकी पुनः अध्यक्षमा चयन
बिर्तामोड, झापा — वैशाख १३ गते।
खप्तडी बुढाथोकी क्षेत्री सेवा समाज झापा जिल्लाको चौथो साधारण सभा तथा जिल्ला अधिवेशन बिर्तामोडमा सम्पन्न भएको छ। अधिवेशनले पुनः दोस्रो कार्यकालका लागि जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेको छ।
जसअनुसार, जिल्ला अध्यक्षमा योगेन्द्र बुढाथोकी, वरिष्ठ उपाध्यक्षमा गणेश बुढाथोकी, उपाध्यक्षमा काजी बुढाथोकी, सचिवमा कुमार बुढाथोकी, सहसचिवमा मेनुका बुढाथोकी र कोषाध्यक्षमा इन्द्र बुढाथोकी चयन भएका छन्। कार्यसमितिमा अन्य १५ जना सदस्य पनि चयन गरिएको छ।
अधिवेशनको अध्यक्षता जिल्ला अध्यक्ष योगेन्द्र बुढाथोकीले गरेका थिए। कार्यक्रममा खप्तडी बुढाथोकी केन्द्रीय कार्यसमिति काठमाडौंका केन्द्रीय अध्यक्ष गणेशबहादुर बुढाथोकी प्रमुख अतिथि थिए। केन्द्रीय महासचिव राजु बुढाथोकी, बिर्तामोड–३ का वडा अध्यक्ष मदन बुढाथोकी, केन्द्रीय सदस्यहरू देवराज बुढाथोकी, पदम बुढाथोकी, शारदा बुढाथोकी र कोशी प्रदेश समिति अध्यक्ष रामकुमार बुढाथोकी विशेष अतिथि रहेका थिए।
कार्यक्रममा कोशी प्रदेश समिति उपाध्यक्ष रामजी बुढाथोकी, झापा सल्लाहकार समिति संयोजक विष्णुबहादुर बुढाथोकी र तेह्रथुम जिल्ला कार्यसमिति अध्यक्ष शेरबहादुर बुढाथोकी लगायत विशिष्ट अतिथिहरूको उपस्थिति थियो।
कार्यक्रमको अवसरमा झापा जिल्लाभरि रहेका ८० वर्ष उमेर नाघेका ४० जना जेष्ठ नागरिकहरूलाई खादा ओढाइ सम्मानसहित जनही रु १,००५ प्रदान गरिएको थियो। साथै, विभिन्न क्षेत्रमा योगदान पुर्याएका चार जना व्यक्तित्वहरूलाई सम्मानपत्र प्रदान गरिएको छ।
सम्मानित हुनेहरूमा काँकरभिट्टा खानेपानी उपभोक्ता समिति अध्यक्ष रोहित बुढाथोकी, अर्जुनधारा दहीझोडा सामुदायिक वन उपभोक्ता समिति अध्यक्ष देवराज बुढाथोकी, लखनपुर खानेपानी उपभोक्ता समिति सदस्य ईश्वर बुढाथोकी र सतासीधाम धार्मिक तथा पर्यटन विकास समिति सहसचिव डिकबहादुर बुढाथोकी छन्।
झन्डै ५०० जनाको उपस्थिति रहेको कार्यक्रममा विभिन्न सांगीतिक प्रस्तुतिहरू समेत गरिएको थियो।
कार्यक्रम भव्य र सफल रूपमा सम्पन्न भएको आयोजक समितिले जनाएको छ।