“स्वस्थ समुदाय, समृद्ध वडा” नारामा बिर्तामोड–७ मा निःशुल्क स्वास्थ्य जाँच शिविर आयोजना हुने

२५ वैशाख, बिर्तामोड। झापा जिल्लाको बिर्तामोड नगरपालिका वडा नं. ७ ले आगामी बैशाख २६ गते (शुक्रबार) निःशुल्क स्वास्थ्य जाँच शिविर आयोजना गर्न लागेको छ। “स्वस्थ समुदाय, समृद्ध वडा” नाराका साथ सञ्चालन हुने यस शिविरमा वडावासीहरूलाई विभिन्न स्वास्थ्य सेवाहरू उपलब्ध गराइने भनिएको छ।

यस स्वास्थ्य शिविरमा मुख्य रूपमा फिजिसियनद्वारा सामान्य स्वास्थ्य जाँच, ईसीजी परीक्षण, स्त्रीरोग विशेषज्ञद्वारा महिला स्वास्थ्य सम्बन्धी परामर्श, मुखको क्यान्सरको VIA परीक्षण लगायतका सेवाहरू प्रदान गरिनेछ। साथै, क्यान्सर सम्बन्धी जनचेतना अभियान पनि सञ्चालन गरिनेछ जसले गर्दा स्थानीय बासिन्दाहरूमा यस रोग सम्बन्धी जागरूकता बढाउने अपेक्षा गरिएको छ।

वडा अध्यक्ष अविरल कृष्ण खरेलका अनुसार यो शिविर स्थानीय जेष्ठ नागरिक भवन, मिलडाँडा, पानीटेङ्‌किमा बिहान १० बजेदेखि सञ्चालन हुनेछ। उनले सम्पूर्ण वडावासीहरूलाई यस अवसरको लाभ उठाउन आग्रह गरेका छन्।

यस स्वास्थ्य शिविरको प्रविधिक सहयोग बीएण्डसी मेडिकल कलेज, टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर र पूर्वाञ्चल क्यान्सर अस्पतालले प्रदान गरेका छन्। वडा कार्यालयले यस्ता निःशुल्क स्वास्थ्य सेवाहरू समयसमयमा आयोजना गर्ने योजना बनाएको जनाएको छ।