प्रथम वडास्तरीय भलिबल प्रतियोगिता सम्पन्न, वडा नम्बर ३ च्याम्पियन

बिर्तामोड, झापा – खेलकुद विकास समिति वडा नम्बर ९, बिर्तामोड झापाको आयोजनामा जेष्ठ ३ र ४ गते सम्पन्न प्रथम वडास्तरीय भलिबल प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ। प्रतियोगितामा बिर्तामोड नगरका १० वटै वडाबाट टोलीहरू सहभागी भएका थिए।

प्रतिस्पर्धात्मक रूपमा सम्पन्न प्रतियोगिताको सेमिफाइनल चरणमा वडा नम्बर ६ ले वडा नम्बर ७ लाई पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो भने अर्को सेमिफाइनलमा वडा नम्बर ३ ले वडा नम्बर ४ लाई पछि पार्दै फाइनलमा स्थान सुरक्षित गरेको थियो।

उत्साहजनक फाइनल भिडन्तमा वडा नम्बर ३ ले वडा नम्बर ६ लाई “बेस्ट अफ फाइभ” मा लगातार तीन सेटमा पराजित गर्दै उपाधि आफ्नो पक्षमा पार्न सफल भयो। विजेता टोलीले ट्रफी, मेडल, प्रमाणपत्र सहित नगद रु. ३१,००० प्राप्त गरेको छ। त्यसैगरी, दोस्रो हुन सफल टोलीले ट्रफी, मेडल, प्रमाणपत्र सहित नगद रु. २१,००० प्राप्त गरेको छ।

यस प्रतियोगिताका विभिन्न विधामा उत्कृष्ट थहरिएका खेलाडीहरुलाई पनि पुरस्कृत गरिएको थियो। सर्वोत्कृष्ट खेलाडीमा विजेता टोलीका खेलाडी ध्रुव भण्डारी सम्मानित भएका छन्। सर्वोत्कृष्ट स्पाइकरमा उपविजेता टोलीका लिला डाँगी, सर्वोत्कृष्ट डिफेन्समा समिर बस्नेत, सर्वोत्कृष्ट लिफ्टरमा सविन थापा, उत्कृष्ट सर्भर रोहन शर्मा सम्मानित भएका छन्।

Leave a Reply