पोखरामा राष्ट्रिय युवा संघ नेपालको १०औँ महाधिवेशनको तयारी पूरा

पोखरा । राष्ट्रिय युवा संघ नेपालको १० औँ महाधिवेशनको तयारी पूरा भएको छ । शुक्रबार, शनिबार र आइतबार पोखरामा हुने महाधिवेशनको आन्तरिक तयारी पूरा भएको पूर्वअध्यक्ष तथा इन्चार्ज राजीव पहारीले जानकारी दिए । उनका अनुसार शुक्रबार अमरसिंह चौरमा उद्घाटन समारोह हुनेछ भने त्यसपछि पोखरा सभागृहमा बन्द सत्र हुनेछ ।


महाधिवेशनको प्रचार प्रसारका लागि बिहीबार मार्च पास आयोजना गरियो । युवा सङ्घ कास्की शाखाको आयोजनामा भएको मार्च पास पोखराको मानवअधिकारी चोकबाट सुरु भएर वीपीचोक, न्युरोड हुँदै पोखरा सभागृहमा समापन गरिएको थियो ।

मार्च पास समापनमा सम्बोधन गर्दै पहारीले प्रतिगामी तत्त्वहरू चलमलाउन खोजेकोले कहिल्यै उठ्न नसक्ने गरी नामेट पार्न युवा सङ्घको पोखरा महाधिवेशनले सन्देश दिनुपर्ने बताए । महाधिवेशनको उद्घाटन एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन् ।


महाधिवेशन ११ गतेभित्रै सम्पन्न गर्ने गरी तयारी भइरहेको पहारीको भनाई छ । ‘युवा आन्दोलनलाई नयाँ उचाइमा पुर्‍याउनका निमित्त महाधिवेशनले सन्देश दिनेछ,’ उनले भने, ‘आजको मार्च पास काष्टिङ मात्रै हो । रियल पिक्चर शुक्रबार प्रदर्शन गर्छौँ ।’ महाधिवेशनमा १ हजार ८ सय २६ प्रतिनिधि सहभागी हुनेछन् । प्रतिनिधि पोखरा आउने क्रम सुरु भैसकेको पहारीले जानकारी दिए ।