कनकाई घाटमा मेची अञ्चलकै पहिलो विद्युतीय शवदाह गृह निर्माण हुँदै, मन्त्री कार्कीको अनुगमन

झापा, जेठ ९ – झापाको कनकाई नगरपालिका–४ स्थित कोटीहोममा रहेको पवित्र कनकाई नदीको पूर्वी किनारमा मेची अञ्चलमै पहिलो विद्युतीय शवदाह गृह निर्माणको प्रक्रिया अघि बढाइएको छ।करिब २ करोड ५० लाख रुपैयाँ लागतमा निर्माण हुने यो परियोजना कोशी प्रदेश सरकार र कनकाई नगरपालिकाको संयुक्त लगानीमा सम्पन्न हुँदैछ।

कोशी प्रदेशका खानेपानी, सिंचाइ तथा ऊर्जा मन्त्री एकराज कार्कीको विशेष पहलमा अघि बढाइएको सो आयोजनाको आज मन्त्री कार्की स्वयंले निर्माणस्थलमा पुगेर अनुगमन समेत गरेका छन्।विद्युतीय शवदाह गृह सञ्चालनमा आएपछि वन दोहन, दाउराको अभाव, अन्त्येष्टि खर्च र समयको समस्यामा ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ। मन्त्री कार्कीका अनुसार, यन्त्र खरिदको लागि प्रदेश सरकारले २ करोड रुपैयाँ विनियोजन गर्नेछ भने कनकाई नगरपालिकाले यन्त्र स्थापनाका लागि आवश्यक पूर्वाधार निर्माण गर्नेछ।

शवदाह गृहमा ४५ देखि ५० मिनेटभित्र एक शवको दाहसंस्कार गर्न सकिनेछ र प्रति शव करिब ६ सय रुपैयाँ बराबरको विद्युत खर्च लाग्ने जनाइएको छ। एकैपटक दुई शव जलाउन सक्ने क्षमता भएको यो आधुनिक संरचना वातावरणमैत्री हुने अपेक्षा गरिएको छ।कनकाई घाट व्यवस्थापन समितिका अध्यक्ष खेम मिश्रले वातावरण संरक्षण र सामाजिक उत्तरदायित्वका हिसाबले यो आयोजना महत्वपूर्ण हुने बताए। “दाउराको तुलनामा यो प्रणाली सस्तो, छिटो र वातावरणमैत्री छ,” अध्यक्ष मिश्रले भने।

हाल कनकाई घाटमा दाउराले शव जलाउने ५ वटा चितास्थल रहेका छन्। विद्युतीय शवदाह गृह बनेपछि सेवा अझ सहज, सुरक्षित र वैज्ञानिक हुने अपेक्षा गरिएको छ।

यसअघि काठमाडौं, चितवन, पोखरा र इटहरीमा विद्युतीय शवदाह गृह निर्माण भइसकेका छन्। अब भने यो सेवा मेची अञ्चलमै पहिलोपटक कनकाई घाटबाट सुरु हुन लागेको हो।