जेष्ठ ९, बिर्तामोड, झापा । सिपमुलक तालिममार्फत महिलाहरुलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ बिर्तामोड ७ मा १५ दिने ब्याग सिलाई तालिम सम्पन्न भएको छ। यस तालिमबाट ३५ महिलाहरु लाभान्वित भएका छन्।

वडाको आर्थिक सहयोग र सुनगामा नौमती बाजा समूहको आयोजनामा कृष्ण भजन समूहको सभाहलमा सम्पन्न तालिममा २५ जनाको लागि योजना गरिएको भए पनि ३५ जना महिलाको सहभागिताले कार्यक्रमलाई थप उत्साहजनक बनायो।

तालिमको समापन कार्यक्रममा बाजा समूहकी अध्यक्ष शारदा अधिकारीको अध्यक्षता, नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाको प्रमुख आतिथ्यता, र वडा अध्यक्ष अबिरल कृष्ण खरेलको विशेष आतिथ्यता रहेको थियो। साथै वडा सदस्य तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति थियो।

स्वागत मन्तव्य मिरा मिश्रले राख्नुभएको कार्यक्रमको आकर्षक पक्ष भनेको सहभागी महिलाहरूले आफैँ तयार गरेका हात झोला (ब्याग) अतिथिहरूलाई उपहारस्वरूप प्रदान गर्नु हो। यिनै ब्याग बनाउने सीप तालिमको मूल लक्ष्य थियो।
वडाध्यक्ष खरेलले आफ्नो मन्तव्यमा भन्नुभयो, “विगतमा धेरै तालिम सञ्चालन त भए, तर व्यवहारमा पुग्न सकेनन्। तर यो तालिम भने व्यवहारमा परिणत भएर महिलाहरूको जीवनस्तरमा प्रत्यक्ष प्रभाव पार्नेछ भन्ने अपेक्षा लिएको छु। वडा कार्यालय महिलाहरूलाई आत्मनिर्भर र उद्यमी बनाउने दिशामा निरन्तर क्रियाशील छ।”

तालिम सहभागी कान्ता घिमिरेले भनिन्, “१५ दिनको समय छोटो लागे पनि सोचेभन्दा राम्रो सिक्न पाइयो। आगामी दिनमा यस्ता तालिमलाई नगर र वडाले निरन्तरता दिनुपर्छ।”
प्रमुख अतिथि संग्रौलाले भने, “बिर्तामोडमै यस्ता ब्याग उत्पादन उद्योग खोल्न सकिन्छ। यस्ता समूहले १०० जनासम्मलाई रोजगारी दिनसक्ने सम्भावना देखिएको छ। नगरपालिकाले सीपमूलक तालिमलाई उच्च प्राथमिकतामा राखेको छ।”

तालिमले महिलाहरूलाई आत्मनिर्भर बनाउने, सिप सिकेर आफ्नो तथा समाजको आर्थिक हैसियत सुधार्ने स्पष्ट सम्भावना देखाएको सहभागीहरूको धारणा छ।