पत्रकार महासंघ झापाद्वारा तीन पालिकामा सात बुँदे ज्ञापनपत्र बुझाइयो

झापा-नेपाल पत्रकार महासंघ झापाले जिल्लाका १५ वटै स्थानीय तहलाई लक्षित गरी सञ्चालन गरिएको सात बुँदे मागसहितको ज्ञापनपत्र बुझाउने अभियान अन्तर्गत आइतबार बिर्तामोड नगरपालिका, हल्दीबारी गाउँपालिका र बाह्रदशी गाउँपालिकामा ज्ञापनपत्र बुझाएको छ।

महासंघका अध्यक्ष एकराज गिरीको नेतृत्वमा भएको कार्यक्रममा उपाध्यक्ष सुव्रत न्यौपानेले ज्ञापनपत्र बाचन गरेका थिए भने सहजीकरण महासंघका सचिव राजु पाठकले गरेका थिए। कार्यक्रममा महासंघका पदाधिकारी, सदस्य र सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।

ज्ञापनपत्रमा सञ्चारमैत्री नीति तथा कानुन निर्माण र कार्यान्वयन, सञ्चार माध्यमको संरक्षण, स्थानीय विज्ञापन तथा सन्देशमूलक कार्यक्रम जिल्लाभित्रका सञ्चार माध्यमलाई उपलब्ध गराउने व्यवस्था, सञ्चारकर्मीको स्वास्थ्य बीमा, क्षमता विकास, मिडिया साक्षरताका लागि बजेट विनियोजन, पत्रकार सहारा उपचार कोषमा अनुदान सहयोग, महासंघको भौतिक पूर्वाधार तथा उपकरण खरिदमा सहयोग, र खोजमूलक पत्रकारिता तथा लेखनवृत्तिका लागि बजेटको माग गरिएको छ।

ज्ञापनपत्र ग्रहण गर्दै तीन वटै पालिकाका प्रमुखहरूले नगरको स्रोत र साधनको उपलब्धताअनुसार सञ्चार क्षेत्रलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

महासंघका अध्यक्ष गिरीले बाँकी स्थानीय तहहरूमा भोलिसम्म ज्ञापनपत्र बुझाइसकिने जानकारी दिएका छन्।