पत्रकार उपचार सहयोग कोषमा ९० वर्षीय राधादेवी खरेलले सहयोग 

बिर्तामोड, भदौ १४
प्रेस चौतारी नेपाल झापाद्वारा सञ्चालित पत्रकार उपचार सहयोग कोषमा बिर्तामोड–१ की ९० वर्षीय राधादेवी खरेलले सहयोग गर्नुभएको छ ।

शनिबार आफ्नो ९० औं जन्मोत्सवका अवसरमा खरेलले नगद ५१ सय रुपैयाँ कोषलाई हस्तान्तरण गर्नुभएको हो । उहाँले पत्रकारहरुको स्वास्थ्य उपचारमा सहयोग गर्ने उद्देश्यले स्थापना गरिएको कोषलाई सहयोग गर्ने इच्छा व्यक्त गर्नुभएको थियो ।

कोषका संयोजक भीमा शिवाकोटीलाई रकम हस्तान्तरण गर्ने क्रममा उहाँका छोरा तथा बिर्तामोड–१ का पूर्व जनप्रतिनिधि प्रेम खरेलले आमाको तर्फबाट पत्रकार उपचार कोषलाई सहयोग गरिएको जानकारी दिनुभयो ।

सो अवसरमा प्रेस चौतारी झापाका अध्यक्ष प्रदीप परियार, सहसचिव तिलक योञ्जन र कार्यसमिति सदस्य प्रकाश बानियाँ पनि उपस्थित थिए ।

पत्रकारहरुको स्वास्थ्य उपचारमा सहयोग गर्ने उद्देश्यले स्थापना गरिएको सो कोषलाई विभिन्न अवसर पारेर सहयोग गर्ने क्रम जारी छ । हालसम्म कोषमा ७ लाख रुपैयाँ संकलन भएको र यस कार्यकालमै १५ लाख पुर्‍याउने योजना रहेको संयोजक शिवाकोटीले जानकारी दिनुभयो । कोषको व्याजबाट पत्रकारको उपचारमा सहयोग गर्ने कार्यविधि रहेको छ ।