हक्की विकासको अगुवा: मनोज बुढाथोकीको नेतृत्वमा झापामा हक्की खेलको नयाँ युग

भद्रपुर, झापा |
पूर्वी नेपालमा हक्की खेलको विकासमा महत्वपूर्ण योगदान दिँदै झापा जिल्ला हक्की संघका अध्यक्ष मनोज बुढाथोकीको सक्रिय नेतृत्वमा भद्रपुर नगर हक्की संघको तदर्थ समिति औपचारिक रूपमा गठन गरिएको छ।

झापा जिल्ला हक्की संघको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा राष्ट्रिय हक्की खेलाडी तथा वरिष्ठ प्रशिक्षकहरूलाई सम्मान गर्नुका साथै हक्की खेलसम्बन्धी ज्ञानवर्द्धक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको थियो।

कार्यक्रमको अध्यक्षता स्वयं अध्यक्ष बुढाथोकीले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा झापा जिल्ला खेलकुद समितिका अध्यक्ष भेषराज भण्डारी रहनुभएको थियो। यस्तै, भद्रपुर नगरपालिका वडा नम्बर ९ का अध्यक्ष राम दाहाल, वडा नम्बर ८ का अध्यक्ष गौरव सुब्बा, विभिन्न स्थानीय प्रतिनिधिहरू, शिक्षक, पत्रकार तथा खेलकर्मीहरूको उल्लेखनीय उपस्थिति थियो।

सो अवसरमा भद्रपुर नगर हक्की संघको तदर्थ समिति गठन गरिएको हो। जसमा दिपक खतीवडा अध्यक्ष, युवराज ढकाल उपाध्यक्ष, खगेन्द्र ढुंगाना सचिव, शाकुन्तला चौधरी कोषाध्यक्ष र सदस्यहरूमा रविन सुनुवार, सुनिता चौधरी, भीम चौधरी, मणि कुमार शर्मा र गङ्गा थापा रहेका छन्।

कार्यक्रममा त्रिभुवन आर्मी क्लबका राष्ट्रिय हक्की खेलाडीहरू—रोशन चौधरी, डिल्ली चौधरी, मनोज चौधरी, प्रदीप राजबंशी र चिरन प्रधानलाई सम्मान गरिएको थियो। साथै, प्रशिक्षक रञ्जन थापालाई सम्मानपत्र, खादा र मायाको चिनो प्रदान गरिएको थियो।

अन्तरक्रिया सत्रमा राष्ट्रिय खेलाडी चिरन प्रधानले नेपालमा हक्कीको वर्तमान अवस्था, सम्भावना र चुनौतीबारे धारणा राख्दै स्थानीय तहदेखि केन्द्रसम्मको सहयोग आवश्यक रहेको बताए। प्रशिक्षक रञ्जन थापाले गुणस्तरीय प्रशिक्षण र प्रविधिको प्रयोगबाट मात्रै नेपाली हक्की अन्तर्राष्ट्रिय स्तरमा पुग्न सक्ने बताए।

संघ अध्यक्ष दिपक खतीवडाले भद्रपुरलाई हक्कीको केन्द्र बनाउने अठोट व्यक्त गर्दै नियमित प्रशिक्षण, प्रतियोगिता र संरचनागत विकासमा जोड दिइने जानकारी दिए। सचिव खगेन्द्र ढुंगानाले विद्यालय तहदेखि नै खेलकुदमा लगानी जरुरी रहेको बताए।

कार्यक्रममा भद्रपुर नगर हक्की संघले अन्तरविद्यालय प्रतियोगिता, निर्णायक तालिम, महिला हक्की प्रवर्द्धन र राष्ट्रियस्तरका प्रतियोगिता आयोजना गर्ने योजनासमेत सार्वजनिक गर्यो।

मनोज बुढाथोकीको नेतृत्वमा नै झापाको प्रतिनिधित्व गर्दै पहिलो नगरपालिका स्तरीय Hockey 5s Championship, हेटौंडा–2081 मा झापाले रजत पदक जितेको थियो भने दोस्रो प्रतियोगितामा सुन पदक जित्दै इतिहास रचिएको थियो। बुढाथोकीले केही वर्षअगाडि “हक्की भनेको के हो?” भन्ने प्रश्न रहेको अवस्थामा समेत लगनशील प्रयास गर्दै झापामा मात्र नभई पूर्वी नेपालमै हक्की खेलको पहिचान बनाएका छन्। संघ गठनदेखि खेलाडी उत्पादन, प्रतियोगिता सञ्चालन, प्रशिक्षण व्यवस्थापन लगायत हरेक पक्षमा उनको नेतृत्व उदाहरणीय रहँदै आएको छ।

अध्यक्ष बुढाथोकीको दूरदृष्टि, प्रतिबद्धता र सक्रियताले अब हक्की खेल झापा जिल्लामात्र नभई समग्र प्रदेश १ मा नै फैलिँदै जाने अपेक्षा गरिएको छ।