पूर्व–पश्चिम रेलमार्गको लागि रोक्का गरिएको झापादेखि इनरुवा क्षेत्रको जग्गा फुकुवा हुने

झापा, जेठ १५।सरकारले मुआब्जा वितरण गर्न नसकेपछि झापाको काँकडभिट्टादेखि सुनसरीको इनरुवासम्म रेलमार्ग निर्माणका लागि रोक्का राखेको जग्गा फुकुवा गर्ने भएको छ ।

बजेट भाषणका क्रममा अर्थमन्त्री विष्णु पौडेलले जग्गा रोक्का फुकुवा गर्ने घोषणा गरेका हुन् । पूर्व पश्चिम रेलमार्ग निर्माणका लागि पाँच वर्षअघि रेखाङ्कन गरी निर्माण क्षेत्रको जग्गा रोक्का राखिएको थियो ।

जग्गाधनीले मुआब्जा नदिने भए रोक्का फुकुवा माग गर्दै एक वर्षयता आन्दोलन गरिरहेका थिए । रेलमार्ग निर्माण स्थलका पाँच हजार कित्ता जग्गा रोक्का छन् । २०७७ जेठ २७ गते झापा र २९ गते मोरङ र सुनसरीका जग्गा सरकारले रोक्का गरेको हो । रेलवेमा परेका कित्तामा डिमार्केसन (पिलर गाडिएको )गरिएको छ । निजी जग्गामा डिमार्केसन गरिएको समयदेखि स्थानीय आफ्नो स्वामित्वको जमिन किनबेच, बैंकिङ कारोबार र भोगचलन गर्न समेत बन्चित भएका छन् । जसका कारण धेरैको व्यवहार बिग्रिएको छ । कतिपयको त दैनिक व्यवहार नचल्ने अवस्था भएको छ ।

झापाका २ हजार २, मोरङका १३ सय ५७ र सुनसरीका ८४९ जग्गावाला एवं घरधनीहरुको घरजग्गा रोक्का गरिएको हो ।झापाको मेचीनरगर, गरामनी, अनारमनी, दुवागढी, चारपाने, घैलाडुब्बा, शिवगञ्ज, तोपगाछी, दमक र लखनपुर क्षेत्रका करिब २ हजार व्यक्तिको घरजग्गा रेलमार्गमा पर्ने भएर रोक्का गरिएको हो ।

त्यसैगरी मोरङको साविक मधुमल्ला ६, उर्लाबारी, पथरी शनिश्चरे, अमरदह, बयरवन, केरौन, डाँगीहाट, बेलबारी, सुन्दर हरैंचा क्षेत्रका १३५८ कित्ता जग्गाहरु रोक्का गरिएको थियो ।

त्यसैगरी सुनसरीको इटहरी, खनार, चाँदबेला, बबिया, भोक्राहा र इनरुवाका ८४९ कित्ता जग्गा रोक्का थियो ।

काँकडभिट्टा– इनरुवा रेलमार्गका लागि बजेट छुट्याउनुको सट्टा मुआब्जाका लागि स्रोत व्यवस्थापन गर्नबाट सरकार पछि हटेको पूर्वपश्चिम रेलवे मुआब्जा समन्वय समितिका कोशी प्रदेश संयोजक डा. लक्ष्मीप्रसाद मैनालीको भनाइ छ । मैनालीले अहिले आवश्यक बजेट नछुट्याइदा रेलवे पीडितलाई थप मानसिक यातना भएको प्रतिक्रिया दिए ।

सरकारले बिहीबार प्रस्तुत गरेको बजेटमा कोशी प्रदेशका बहुप्रतिक्षित योजनाहरूलाई समेत बजेट विनियोजन भएको छ । अर्थमन्त्री पौडेलले प्रस्तुत गरेको बजेटमा झापाको भद्रपुरसहित अन्य विमानस्थलको स्तरोन्नतिका निम्ति ५० करोड रुपैयाँ विनियोजन भएको छ । यसैगरी मोरङको गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशालासहित अन्य रंगशालाका लागि ४२ करोड रुपैयाँ विनियोजन भएको छ । गिरिजाप्रसाद रंगशालामा हरेक वर्ष बजेट विनियोजन भए पनि निर्माण कार्य भने अुधरै छ ।

झापाको दमकमा सबै प्रकारका प्रतियोगिता आयोजना गर्न अन्तर्राष्ट्रिय रंगशाला निर्माण गर्ने घोषणा गरिएको छ । यसैगरी सुनसरी–मोरङ नहर तथा सिँचाइ प्रणाली मर्मत तथा संहार, पुनस्र्थापना तथा व्यवस्थापन सुधारका निम्ति पनि बजेट विनियोजन भएको छ ।

पूर्वपश्चिम राजमार्ग विस्तारअन्तर्गत काँकडभिट्टा–लौकही सडक चार लेन स्तरोन्नति गर्न बजेट विनियोजन भएको छ । विराटनगरको रानी–इटहरी चार लेन व्यापारिक मार्ग निर्माण सम्पन्न गर्न बजेट छुट्याइएको छ । कोशी कोरिडोरको खाँदबारी–दोभान खण्ड, अरुण कोरिडोरको चतरा–लेघुवा सडक ट्याक खोल्न बजेट विनिजन भएको अर्थमन्त्री पौडेलले जनाएका छन् । झापाको बाहुनडाँगीदेखि डडेल्धुरा जोड्ने पुष्पलाल मार्ग निर्माणका लागि दुई अर्ब ५१ करोड विनियोजन भएको छ । सुरुङ मार्गतर्फ धरान–लेउती निर्माणका लागि स्रोत व्यवस्थान गरिने जनाइएको छ ।