बिर्तामोडमा कुपोषणविरुद्ध अभियान तीव्र, बालबालिकालाई पोषण प्याकेज वितरण

झापा, बिर्तामोड । बिर्तामोड नगरपालिकाले बालबालिकामा देखिने कुपोषण न्यूनीकरण गर्ने उद्देश्यसहित सञ्चालन गरेको अभियानलाई थप प्रभावकारी बनाउँदै मध्यम शीघ्र कुपोषण भएका ४५ जना बालबालिकालाई पोषण प्याकेज वितरण गरेको छ।

बिर्तामोड नगर अस्पतालमा आयोजित कार्यक्रममा गत वैशाख महिनादेखि विभिन्न वडाबाट पहिचान गरिएका ६ देखि ५९ महिना उमेर समूहका मध्यम शीघ्र कुपोषण भएका ४५ जना बालबालिकालाई पोषण सामग्री प्रदान गरिएको हो। यससँगै उनीहरूका आमाहरूलाई बालबालिकाको उचित खानपान, स्तनपान, सरसफाइ, पूरक आहार तथा पोषण व्यवस्थापन सम्बन्धी विस्तृत परामर्श पनि प्रदान गरिएको बिर्तामोड स्वास्थ्य शाखाले जनाएको छ।वितरण गरिएको पोषण प्याकेजमा घिउ, अण्डा तथा सर्वोत्तम पिठो बनाउन आवश्यक विभिन्न पौष्टिक सामग्री समावेश गरिएको थियो, जसले बालबालिकाको पोषण अवस्था सुधार गर्न सहयोग पुग्ने डा हेमन्त राठीले  बताएका छन्।

कार्यक्रम बिर्तामोड नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा सम्पन्न भएको हो। कार्यक्रममा नगर अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. हेमन्त राठीले पोषण प्याकेज वितरण गर्दै बालबालिकाको प्रारम्भिक अवस्थामै कुपोषण पहिचान गरी समयमै उपचार र पोषण व्यवस्थापन गर्न सके भविष्यमा हुने जटिल स्वास्थ्य समस्याबाट बचाउन सकिने बताए।

कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख राजीव कृष्ण बिष्ट, नर्सिङ अधिकृत सङ्गीता तिम्सिना, पोषण फोकल पर्सन कृष्ण काफ्ले तथा सी.अहेब अधिकृत बाबुराम निरौलाको उपस्थिति रहेको थियो। उक्त कार्यक्रमको सहजीकरण पोषण फोकल पर्सन कृष्ण काफ्लेले गरेका थिए।

बिर्तामोड नगरपालिकाले हाल ६ महिना देखि ५९ महिना उमेर समूहका बालबालिकामा हुने कुपोषण पहिचान गर्ने अभियानलाई तीव्र बनाएको जनाएको छ। समुदायस्तरमै नियमित स्क्रिनिङ गरी मध्यम तथा कडा शीघ्र कुपोषण भएका बालबालिकालाई उपचारको दायरामा ल्याउने कार्य निरन्तर भइरहेको छ।

 नगर स्वास्थ्य शाखाका पोषण फोकल पर्सन कृष्ण काफ्लेका अनुसार कडा शीघ्र कुपोषण भएका बालबालिकालाई बहिरङ्ग उपचार सेवा (Outpatient Therapeutic Program) मा आबद्ध गराई तयारी उपचारात्मक खाना (Ready-to-Use Therapeutic Food) मार्फत निःशुल्क उपचार सेवा पनि सञ्चालन भइरहेको छ। यसले अस्पताल भर्ना नगरी समुदायमै प्रभावकारी उपचार सम्भव भएको स्वास्थ्यकर्मीहरूको भनाइ छ।

राष्ट्रिय जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण (NDHS) २०२२ अनुसार नेपालमा पाँच वर्षमुनिका करिब ८ प्रतिशत बालबालिका कडा शीघ्र कुपोषणबाट प्रभावित छन् भने १९ प्रतिशत बालबालिका कम तौलका र २५ प्रतिशतमा पुड्कोपन (Stunting) को समस्या रहेको छ। यी तथ्यांकले बाल पोषण सुधारका लागि स्थानीय तहदेखि नै प्रभावकारी कार्यक्रम सञ्चालन गर्नु आवश्यक रहेको देखाउँछन्।

नेपाल सरकारले दिगो विकास लक्ष्य (SDGs) अन्तर्गत सन् २०३० सम्म बाल कुपोषणको दरमा उल्लेख्य कमी ल्याउने लक्ष्य लिएको छ। सोही लक्ष्यलाई सहयोग पुर्‍याउने उद्देश्यले बिर्तामोड नगरपालिकाले कुपोषणको समयमै पहिचान, नियमित अनुगमन, पोषण परामर्श तथा उपचार सेवालाई प्राथमिकताका साथ अघि बढाएको जनाएको छ।

 बिर्तामोड नगरपलिकाको सक्रियता, स्वास्थ्यकर्मीको नियमित अनुगमन र अभिभावकको सचेत सहभागिताले बालबालिकामा कुपोषण न्यूनीकरणमा सकारात्मक परिणाम आउने विश्वास व्यक्त गरिएको नगर प्रमुख पबित्रा देवी महतारा प्रसाईंले बताउनु भयो ।

Leave a Reply