शैक्षिक अभ्यास अवलोकन र अनुभव आदानप्रादन गर्न बिर्तामोडको टोली भरतपुरमा

१८ जेष्ठ, बिर्तामोड, झापा । शैक्षिक क्षेत्रको सुधार तथा नवीन अभ्यास अवलोकन गर्ने उद्देश्यले बिर्तामोड नगरपालिकाका नगर प्रमुख पवित्रा महतारा प्रसाईको नेतृत्वमा विद्यालयका प्रधानाध्यापकहरूको टोली भरतपुर महानगरपालिकाको अध्ययन भ्रमणमा पुगेको छ।

आईतबार सम्पन्न भ्रमणका क्रममा भरतपुर महानगरका नगर प्रमुख रेणु दाहाल, उपप्रमुख चित्रसेन अधिकारी र प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले बिर्तामोडबाट गएको टोलीलाई स्वागत गरेका थिए। भ्रमणको सिलसिलामा भरतपुर महानगरले पछिल्लो आठ वर्षमा शिक्षा क्षेत्रमा गरेको प्रगतिका विविध पक्षबारे जानकारी गराएको थियो।

प्रधानाध्यापकहरूसँगको अन्तरक्रियामा उनीहरूले उठाएका विभिन्न जिज्ञासाहरूमा भरतपुरका अधिकारीहरूले आवश्यक जानकारी दिएका थिए। भरतपुरको विद्यालय व्यवस्थापन, भौतिक पूर्वाधार, शैक्षिक गुणस्तर अभिवृद्धि तथा प्रशासनिक समन्वयका विषयमा टोलीले प्रत्यक्ष जानकारी लिएको थियो।

यसै क्रममा आज भरतपुर नगरपालिका नगर प्रमुख रेणु दाहालसँग बिर्तामोड नगर प्रमुख पवित्रा महतारा प्रसाई नेतृत्वको टोलीको विकास निर्माणसम्बन्धी विषयमा अन्तरक्रिया सम्पन्न भयो। साथै, नारायणी नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक रामशरण दुवाडी र भद्रकुमारी राष्ट्रिय आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्रप्रसाद चालिसेसँग शिक्षा सम्बन्धी विचार आदानप्रदान गरिएको थियो।

बिर्तामोड नगरपालिकाले यस्ता अध्ययन भ्रमणहरूलाई आफ्नै नगरको शिक्षा नीति सुधार र प्रभावकारी कार्यान्वयनका लागि उपयोगी अभ्यासको रूपमा लिँदै आएको छ।