झापामा कोशी प्रदेशस्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनी हुने, पूर्वराष्ट्रपति भण्डारीले उद्घाटन गर्ने


झापा– नेकपा (एमाले) कोशी प्रदेश विज्ञान तथा प्रविधि विभागले झापाको बिर्तामोडमा प्रदेशस्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनी आयोजना गर्ने भएको छ। यही जेठ २४ गतेदेखि २६ गतेसम्म बिर्तामोडको देवी माध्यमिक विद्यालयमा प्रदर्शनी सञ्चालन हुनेछ।


विभागद्वारा बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रदर्शनी आयोजनाका बारेमा जानकारी दिँदै विभागका प्रमुख गणेश पोखरेलले प्रदर्शनीमा १ लाख विद्यार्थी सहभागी हुने अनुमान गरिएको बताउनुभयो। प्रदर्शनीको उद्घाटन पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने कार्यक्रम रहेको छ।


कोशी प्रदेशका १२ वटै जिल्लाबाट विद्यार्थीहरूको सहभागिता रहने निश्चित भइसकेको पोखरेलले जानकारी दिए। “दैनिक ३३ हजार विद्यार्थी सहभागी हुने अनुमान छ,” उनले भने, “कार्यक्रम सम्पन्न गर्न ३५ लाख खर्च हुने अनुमान गरेका छौँ।” झापाबाट भने अलि धेरै विद्यार्थीको सहभागिता रहने उनको भनाइ छ।
प्रदर्शनीमा कक्षा–१२ सम्मका विद्यार्थीले सहभागिता जनाउन सक्नेछन् भने पाँच सय विद्यार्थीले प्रतिस्पर्धात्मक सहभागिता जनाउने आयोजकले जनाएको छ। विज्ञान शिक्षक समाजसँगको समन्वयमा हुन लागेको यस प्रदर्शनीमा प्रथम हुने विद्यार्थीले चार लाख रुपैयाँ, दोस्रोले तीन लाख, तेस्रोले दुई लाख र चौथोले एक लाख रुपैयाँ नगद पुरस्कार पाउनेछन्। यसका साथै, अन्य २५ वटा विद्यालयलाई २५ हजारका दरले सान्त्वना पुरस्कार प्रदान गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो।


कार्यक्रमका प्रमुख अतिथि नेकपा (एमाले) का स्थायी कमिटी सदस्य एवं कोशी प्रदेश इञ्चार्ज शेरधन राईले पार्टीको विज्ञान तथा प्रविधि विभागले पहिलो पटक यस प्रकारको काम गर्न लागेको बताए। उनले पार्टीका सबै विभागलाई चलायमान बनाउन पनि कार्यक्रम गर्न लागिएको स्पष्ट पारे।
“आजको विज्ञान प्रविधिको युगमा आइटीलाई उच्च प्राथमिकतामा राखेर काम गर्नुपर्छ,” राईले भने, “कोशी प्रदेशलाई समृद्ध बनाउनुका साथै विश्वमै प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गर्न जरुरी छ।”


कार्यक्रमको आयोजना एमालेले गरे पनि यो कार्यक्रम विचार केन्द्रित नभई सबैको साझा कार्यक्रमका रूपमा आएको विभाग प्रमुख पोखरेलको भनाइ छ।