पोखरीमा डुबेर झापामा दुई बालकको मृत्यु

झापा जिल्लाको अर्जुनधारा नगरपालिका–११ स्थित नमुना सामुदायिक वन भित्र रहेको दिमदिमे पोखरीमा पौडी खेल्ने क्रममा दुई बालकको डुबेर मृत्यु भएको छ।

शनिबार बिहान करिब ८ बजे, तेह्रथुम जिल्लाको जिरीखिम्ती घर भई हाल अर्जुनधारामा पाहुनाका रूपमा बस्दै आएकी धनमाया गुरुङका १२ वर्षीय छोरा महसुस गुरुङ र सोही ठाउँकी मुना गुरुङका १० वर्षीय छोरा सुजल गुरुङ पोखरीमा पौडी खेल्ने क्रममा डुबेका हुन्।

स्थानीयवासीले बालकहरूलाई तत्काल पोखरीबाट उद्धार गरी बिर्तामोडस्थित बिएण्डसी अस्पताल पुर्‍याए पनि चिकित्सकले बिहान ८ः२० बजे दुबै जनालाई मृत घोषणा गरेका थिए।

मृतक बालकहरूको शव हाल बीएन्डसी अस्पतालमा राखिएको छ। घटनाको थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाउन इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी अधिकृतको टोली खटिएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ।