बिर्तामोड, झापा ।पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय लक्ष्य हासिल गर्न विज्ञान तथा प्रविधिको विकासलाई आत्मसात गर्नुपर्ने आवश्यकता औंल्याएकी छन्।

नेकपा एमाले कोशी प्रदेश कमिटीअन्तर्गतको विज्ञान तथा प्रविधि विभागद्वारा झापाको बिर्तामोडमा आयोजित तीन दिने प्रदेशस्तरीय विज्ञान प्रदर्शनीको उद्घाटन गर्दै उनले बालबालिकालाई पाठ्यक्रमको सीमामा मात्रै सीमित नराखी वैज्ञानिक सोचसहित सामाजिक उत्तरदायित्व बोक्न सक्ने नागरिक बनाउनेतर्फ जोड दिनुपर्ने बताइन्।
बिर्तामोडको देवी माध्यमिक विद्यालयमा आयोजित सो प्रदर्शनीको उद्घाटन उनले मोबाइल एप ‘टच’ गरेर डिजिटल दीप प्रज्वलन गर्दै गरेकी हुन्।
पूर्वराष्ट्रपति भण्डारीले प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला झापाबाट यस्ता कार्यक्रम सुरु हुनु सुखद भएको उल्लेख गर्दै आगामी दिनहरूमा पनि यस्ता गतिविधि निरन्तर हुनेमा विश्वास व्यक्त गरिन्।
कार्यक्रममा नेकपा एमाले स्थायी कमिटी सदस्य तथा कोशी प्रदेश इन्चार्ज शेरधन राईले प्रदर्शनीमा प्रस्तुत आविष्कार तथा खोजलाई व्यवहारमा उतार्न पार्टी प्रतिवद्ध रहेको बताए। “नयाँ सोच र सम्भावनाले भविष्य बलियो बनाउँछ,” उनले भने।
देवी माविका प्रधानाध्यापक अम्बिका श्रेष्ठले विद्यालयलाई प्रदर्शनी स्थलका रूपमा छनोट गरेकामा आयोजकप्रति धन्यवाद व्यक्त गरिन्।
विज्ञान प्रदर्शनीमा १ लाख विद्यार्थी सहभागी हुने अनुमान
कार्यक्रम संयोजक तथा विज्ञान विभाग प्रमुख गणेश पोखरेलका अनुसार प्रदर्शनीमा कोशी प्रदेशका अधिकांश जिल्लाबाट करिब १ लाख विद्यार्थी सहभागी हुने अनुमान गरिएको छ। तीमध्ये ५ सय विद्यार्थीले प्रतिस्पर्धात्मक रूपमा आविष्कार प्रस्तुत गर्नेछन्।
विजेता विद्यार्थीलाई लाखौँको पुरस्कार
प्रथम हुने विद्यार्थीलाई रु. ४ लाख, दोस्रोलाई रु. ३ लाख, तेस्रोलाई रु. २ लाख, र चौथोलाई रु. १ लाख नगद पुरस्कार प्रदान गरिनेछ।
त्यसैगरी, २५ वटा विद्यालयलाई २५ हजार रुपैयाँका दरले सान्त्वना पुरस्कारसमेत प्रदान गरिने पोखरेलले जानकारी दिए।