न्यू स्टार क्लब बिर्तामोडलाई हल्दिबारी गाउँपालिका मिनी कप २०८२ को उपाधि

झापा, जेठ २४ – झापाको बिर्तामोडस्थित न्यू स्टार फुटबल क्लबले दोस्रो हल्दिबारी गाउँपालिका मिनी कप २०८२ को उपाधि जितेको छ।

शनिबार जलथलको शान्ति सामुदायिक वन खेलमैदानमा सम्पन्न फाइनल खेलमा न्यू स्टारले मोरङको भाउन्ने युथ क्लबलाई पेनाल्टी सुटआउटमा ४–२ ले पराजित गर्दै उपाधि उचालेको हो।

निर्धारित ९० मिनेटको खेल २–२ गोलको बराबरीमा टुंगिएपछि नतिजा पेनाल्टीमार्फत निकालिएको थियो। भाउन्नेका लागि दुबै गोल उमेश राईले गरेका थिए भने न्यू स्टारका तर्फबाट सौरभ सुब्बा र करन लिम्बुले एक–एक गोल गरेका थिए।

उपाधिसँगै न्यू स्टारले नगद रु १ लाख १ हजार १११ र ट्रफी प्राप्त गर्‍यो। उपविजेता भाउन्ने युथ क्लबले रु ५१ हजारसहित ट्रफीमा चित्त बुझायो।

खेलमा न्यू स्टारका पेमा तामाङ म्यान अफ द म्याच घोषित भए। उनले नगद रु २ हजार पुरस्कार पाए।

त्यस्तै, प्रतियोगिताका उत्कृष्ट खेलाडी न्यू स्टारकै निमा तामाङ भए, जसले नगद रु ५ हजार र ट्रफी जिते। अन्य व्यक्तिगत विधातर्फ न्यू स्टारकै खेलाडीहरू चम्किए –

  • उत्कृष्ट गोलरक्षक: विवेक मगर
  • उत्कृष्ट डिफेन्डर: देवेन्द्र तामाङ
  • उत्कृष्ट मिडफिल्डर: बादल तामाङ
  • उत्कृष्ट प्रशिक्षक: अङ्गु सुब्बा

भाउन्ने युथ क्लबबाट आयुष राई उत्कृष्ट फरवार्ड र उमेश राई सर्वाधिक गोलकर्ता (हाइ स्कोरर) घोषित भए। हरेक विधामा उत्कृष्ट घोषित खेलाडीले नगद रु ५/५ हजार पुरस्कार प्राप्त गरे।

प्रतियोगिता जेठ १७ गतेदेखि सुरु भई जलथल फुटबल क्लबको आयोजनामा जेठ २४ गते सम्पन्न भएको हो। समापन समारोह भव्य रूपमा आयोजना गरिएको थियो।