महिला अधिकार र सशक्तिकरणको पक्षमा बिर्तामोडमा जनचेतना कार्यक्रम

लेखक :-ममता अधिकारी

बिर्तामोड, जेठ ३१ । लैङ्गिक हिंसाविरुद्ध जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले बिर्तामोडमा एकदिने सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम बिर्तामोड उद्यमी व्यवसायी महिला संघको आयोजनामा तथा बिर्तामोड नगरपालिकाको आर्थिक सहयोगमा सम्पन्न भएको हो।

बिर्तामोड नगरपालिका–१ स्थित सभा हलमा आयोजित कार्यक्रममा संघकी अध्यक्ष पुष्पा दाहालको अध्यक्षता रहेको थियो। प्रमुख अतिथि नगर प्रमुख पवित्रादेवी महतरा प्रसाई रहनुभएको कार्यक्रममा विशिष्ट अतिथिका रूपमा नगर प्रवक्ता तथा वडा नं. १ का अध्यक्ष अग्नि पाण्डे उपस्थित हुनुहुन्थ्यो।

कार्यक्रममा नेकपा (एमाले) बिर्तामोड नगर अध्यक्ष सुवास भट्टराई, झापा चेम्बर अफ कमर्सका उपाध्यक्ष भिमा सिवाकोटी, एमाले नगर लेखा उपाध्यक्ष दिनेश अधिकारीलगायत राजनीतिक, सामाजिक तथा व्यवसायिक क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नगर प्रमुख पवित्रादेवी महतरा प्रसाईले लैङ्गिक हिंसाविरुद्धको संघर्ष संस्थागत र सामाजिक रूपमा सशक्त बनाउन आवश्यक रहेको उल्लेख गर्नुभयो।

“लैङ्गिक हिंसा कुनै व्यक्तिको मात्र समस्या होइन, यो समाजको समग्र विकासमा बाधक तत्व हो,” उहाँले भन्नुभयो, “महिला सशक्तिकरणका लागि कानुनी पहुँचसँगै चेतना अभिवृद्धि जरुरी छ। यसका लागि नगरपालिका सधैं प्रतिबद्ध छ।”

महिलामा आत्मबल र अधिकारप्रति जागरण ल्याउन यस्ता कार्यक्रमले सकारात्मक प्रभाव पार्ने विश्वास उहाँले व्यक्त गर्नुभयो।

कार्यक्रमको सञ्चालन संघकी सचिव यसोदा  प्रसाईले गर्नुभएको थियो भने कानुनी पक्षमा जानकारी दिन अधिवक्ता चन्द्रा श्रेष्ठले सहजीकरण गर्नुभएको थियो। उहाँले लैङ्गिक हिंसासम्बन्धी कानुनी प्रावधान, पीडितले पाउन सक्ने सहयोग र व्यवहारिक उपायहरूबारे सहभागीलाई विस्तृत जानकारी दिनुभयो।

कार्यक्रममा विभिन्न संघ–संस्थामा आबद्ध महिला दिदीबहिनीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले आफ्ना अनुभव, चासो र सुझावहरू प्रस्तुत गर्दै यस्ता कार्यक्रम निरन्तर हुनुपर्ने धारणा राखेका थिए।

कार्यक्रममा स्वागत मन्तव्य संघकी उपाध्यक्ष इन्दिरा भट्टराई खनालले राख्नुभएको थियो।