बिर्तामोड, असार ४ ।बिर्तामोड उद्योग वाणिज्य संघले स्थापना गरेको व्यवसायी सदस्य राहत कोषमा स्थानीय व्यवसायी उपेन्द्र वानियाले रु १५ हजार १ सय सहयोग गरेका छन्। उनले आफ्नो जन्मदिनको अवसर पारेर उक्त रकम सहयोगस्वरूप हस्तान्तरण गरेका हुन्।
वानियाले संघका अध्यक्ष राजु न्यौपानेलाई सो रकम हस्तान्तरण गर्दै आपतकालीन अवस्थामा व्यवसायीबीचको सहकार्य र एकताको महत्त्व औंल्याएका थिए।
बिर्तामोड उद्योग वाणिज्य संघले एक वर्षअघि व्यवसायीहरूलाई विपद्का समयमा सहयोग पुर्याउने उद्देश्यले एक करोड रुपैयाँ बराबरको अक्षयकोष स्थापना गरेको थियो। उक्त कोषमा वानिया अटो मोवाइल्सका सञ्चालक समेत रहेका उपेन्द्र वानियाले योगदान गरेका हुन्।
कोषका संयोजक तथा संघका वरिष्ठ उपाध्यक्ष राजकुमार घिमिरे ‘राजु’ले कार्यक्रममा वानियाको योगदानको स्वागत गर्दै आभार प्रकट गरे। कार्यक्रमको सञ्चालन महासचिव कुशल खतिवडाले गरेका थिए।
संघले सहयोग प्रदान गरेका वानियालाई कदरपत्रद्वारा सम्मान समेत गरेको छ।