जन्मदिनमा फरक सोच : अम्बिर लिङ्देनद्वारा बिराट सरोवरमा १०० बिरुवा रोपण

बिर्तामोड, असार ५।
फजुल खर्च नगरी समाज र वातावरणका लागि केही योगदान दिने उद्देश्यले बिर्तामोडका युवा अम्बिर लिङ्देनले आफ्नो जन्मोत्सव विशेष ढंगले मनाएका छन्। उनले बिर्तामोड नगरपालिका–३ स्थित ऐतिहासिक तथा सौन्दर्ययुक्त स्थल बिराट सरोवर पोखरी परिसरमा १०० प्रजातिका फूल बिरुवा रोपेर आफ्नो जन्मदिन मनाएका हुन्।

कार्यक्रममा बिर्तामोड नगर प्रमुख पवित्रा महतारा प्रसाईको प्रमुख आतिथ्य रहेको थियो।


साथै कार्यक्रममा वडा नं. ३ का अध्यक्ष मदन बुढाथोकी, वडा नं. ७ का अध्यक्ष अविरल कृष्ण खरेल, कार्यपालिका सदस्य शर्मिला राजबंशी, वडा सदस्य हरी बास्कोटा, समाजसेवीहरू बद्री भट्टराई, देवराज कार्की, सुरेन राजबंशी, सुभास भट्टराई, राजेन्द्र लिङ्देन, सुनिल सिवाकोटी, माधव खरेल, कोसिस घिमिरे, प्रदीप खरेल, धर्म ओडारी, किशोर भट्टराई, प्रेम भण्डारी, अम्बिका लिङ्देन, तारा चाम्लिङ, श्री न्यौपाने, जगन्नाथ भट्टराई, तुलसी ढकाल, पारस खडका लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा सहभागी सबै व्यक्तिले वृक्षारोपणमार्फत अम्बिरलाई जन्मदिनको शुभकामना व्यक्त गरे। नगर प्रमुख प्रसाईले वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा सौन्दर्यताका लागि यस्तो कार्य प्रेरणादायी भएको बताउँदै फजुल खर्चमा रमाउने चलनलाई तोडेर समाजमा सकारात्मक सन्देश दिन सफल भएको प्रतिक्रिया दिइन्।

“जन्मदिनमा केही नयाँ र समाजोपयोगी कार्य गरौँ भन्ने सोच थियो,” अम्बिर लिङ्देनले बताए, “वडा अध्यक्ष मदन बुढाथोकीको प्रस्तावपछि यो स्थल रोज्न पाउँदा गर्व लागेको छ।”

कार्यक्रमको सञ्चालन कुमार बुढाथोकीले गरेका थिए।