झापा, असार ४ ।एसियाली राजमार्ग अन्तर्गत काँकरभिट्टा–लौकही खण्डको कालोपत्रको काम सुरु भएको छ। हिजो लक्ष्मीमार्ग क्षेत्रबाट एक लेनमा कालोपत्रको कार्य औपचारिक रूपमा प्रारम्भ गरिएको हो।

आयोजना पश्चिम खण्ड इटहरी कार्यालयका प्रमुख जगत प्रजापतिका अनुसार, निर्माण सम्झौता भएको १५ महिनामा करिब २३ प्रतिशत काम सम्पन्न भइसकेको छ।
एसियाली राजमार्ग नम्बर २ अन्तर्गत पर्ने यो खण्ड १२० किलोमिटर लामो भए पनि हालसम्म ९५.७६ किलोमिटर क्षेत्रमा मात्र काम भइरहेको छ। पूर्वी र पश्चिम खण्डमा विभाजन गरी काम अघि बढाइएको छ।
चालु आर्थिक वर्षभित्र कम्तीमा १० किलोमिटर कालोपत्र गर्ने लक्ष्य रहेको आयोजकले जनाएको छ।
आयोजना पूर्वी खण्ड दमक कार्यालयका प्रमुख सुनिलबाबु पन्तका अनुसार पूर्वी खण्डमा २१ प्रतिशत काम सकिएको छ भने त्यहाँ पनि यसै आर्थिक वर्षमा १० किलोमिटर सडक कालोपत्र गर्ने लक्ष्य लिइएको छ।
यस राजमार्ग अन्तर्गत पूर्वी खण्डमा ५० र पश्चिम खण्डमा ७० वटा कल्भर्ट निर्माण भइसकेका छन्।
सडकको चौडाइ बजार क्षेत्रमा ५० मिटर, जङ्गल क्षेत्रमा २४ मिटर र ग्रामीण क्षेत्रमा ३३ मिटर रहनेछ।
एसियाली विकास बैंक (ADB) को ऋण सहयोगमा २०८० साल माघ १९ गतेदेखि सुरु गरिएको यो आयोजनाले एसियाली राष्ट्रहरूलाई सडक सञ्जालमार्फत जोड्ने लक्ष्य लिएको छ।
एसियाली राजमार्ग नम्बर २ को कुल लम्बाइ १३,१७७ किलोमिटर रहेको छ।