बिर्तामोडमा दुई दिने निःशुल्क स्वास्थ्य शिविर आयोजना

बिर्तामोड, झापा – नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको आयोजनामा बिर्तामोडमा दुई दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ।

श्रमिकहरूको स्वास्थ्यलाई प्राथमिकता दिँदै आगामी २०८१ चैत ७ र ८ गते बिर्तामोड स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय अगाडि शिविर आयोजना गर्न लागिएको हो। यस कार्यक्रममा विर्ता आई केयर हस्पिटल प्रा.लि. ले प्राविधिक सहयोग प्रदान गर्नेछ।

आयोजक संस्थाहरूका अनुसार यो शिविर श्रमिक तथा सवारी चालकहरूका लागि विशेष रूपमा लक्षित भए पनि सर्वसाधारण जो कोहीले निःशुल्क स्वास्थ्य परीक्षण गराउन सक्नेछन्। शिविरमा विशेषज्ञ चिकित्सकहरूद्वारा विभिन्न स्वास्थ्य परीक्षण, परामर्श, तथा आवश्यक औषधि निःशुल्क प्रदान गरिनेछ।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका सचिब धन बहादुर गीरीका अनुसार श्रमिकहरू दैनिक आफ्नो पेशागत दायित्वमा व्यस्त रहने हुँदा स्वास्थ्य परीक्षणका लागि समय दिन सक्दैनन्। यही कारण उनीहरूको स्वास्थ्य सुरक्षाका लागि यस्तो अभियान आवश्यक रहेको उनीहरूको भनाइ छ।

स्वास्थ्य शिविरको मूल उद्देश्य श्रमिक वर्ग र सर्वसाधारणलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउनुका साथै रोगको प्रारम्भिक पहिचान गरी आवश्यक परामर्श दिनु रहेको छ।

संबंधित पक्षहरूले सबै मजदुर, चालक, सहचालक तथा सर्वसाधारणलाई स्वास्थ्य शिविरमा सहभागी भई निःशुल्क स्वास्थ्य सेवाको लाभ उठाउन अनुरोध गरेका छन्।