झापा गाउँपालिकाको अठारौँ गाउँसभा सम्पन्न, आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सार्वजनिक

कुमरखोद, असार ७ । झापा गाउँपालिकाको अठारौँ गाउँसभा आज सम्पन्न भएको छ। गाउँसभाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि तयार गरिएको नवौँ वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।

कार्यवाहक अध्यक्ष अन्जुदेवी थपलियाले गाउँपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन्। यस अवसरमा जनप्रतिनिधिहरूले प्रस्तुत प्रतिवेदन जनमुखी, विकासमुखी र आर्थिकमुखी रहेको बताएका छन्।

आर्थिक विकासलाई प्राथमिकता

गाउँपालिकाले आगामी वर्षमा जनताको जीवनस्तर उकास्ने लक्ष्य राख्दै आर्थिक विकासलाई प्राथमिकतामा राखेको छ। यसका लागि कृषि, पशुपालन, बैंक तथा वित्तीय संस्था, पर्यटन र वित्तीय व्यवस्थापनलाई प्रवर्द्धन गरिनेछ। यसबाट गाउँको आम्दानी वृद्धि, रोजगारी सिर्जना र उद्यमशीलता बढ्ने अपेक्षा गरिएको छ।

सामाजिक तथा सांस्कृतिक विकासमा जोड

गाउँपालिकाले सामाजिक तथा सांस्कृतिक विकासका लागि पनि विशेष योजना बनाएको छ। यसमा शिक्षा, स्वास्थ्य, युवा तथा खेलकुद, खानेपानी, सरसफाई, महिला तथा बालबालिका, ज्येष्ठ नागरिक, दलित, आदिवासी जनजाति, अपाङ्गता भएका व्यक्ति, यौनिक तथा लैङ्गिक अल्पसंख्यक, संस्कृति संरक्षण, सामाजिक मेलमिलाप, भूमि व्यवस्था र शान्ति सुरक्षालाई प्राथमिकता दिइएको छ।

समावेशी र दिगो विकासको लक्ष्य

सामाजिक समावेशीकरण, न्याय र दिगो विकासका आधारमा तयार गरिएको यो नीति तथा कार्यक्रमले गाउँपालिकालाई समुन्नत, सशक्त र समावेशी बनाउने अपेक्षा राखिएको छ। जनताको आवश्यकतालाई केन्द्रमा राखी बनाइएको यो योजना सफलतापूर्वक कार्यान्वयन भएमा गाउँपालिकाको समग्र विकासमा ठूलो योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ ।

Leave a Reply