बिर्तामोड, २७ साउन — प्रेस चौतारी नेपाल झापाका संस्थापक अध्यक्ष नेत्र प्रसाद पाठकको स्मृतिमा स्थापना गरिएको लेखनवृत्ति पत्रकार रमा दाहाललाई प्रदान गरिने भएको छ।

प्रेस चौतारी नेपाल झापाको आज बसेको बैठकले कान्तिपुर टेलिभिजनमा झापाबाट कार्यरत दाहाललाई ६ महिनाको अवधिमा प्रकाशित–प्रसारित उत्कृष्ट समाचारका आधारमा लेखनवृत्ति प्रदान गर्ने निर्णय गरेको हो।
बैठकका अनुसार आगामी साउन ३० गते विशेष समारोहमार्फत दाहाललाई लेखनवृत्ति प्रदान गरिनेछ। यसअघि साउन ११ गतेको बैठकले अध्यक्ष प्रदीप परियारको संयोजकत्वमा मनकुमार गदाल र युवराज आचार्य सदस्य रहेको तीन सदस्यीय छनोट समिति गठन गरेको थियो।
छनोट समितिले पछिल्लो ६ महिनामा जिल्लामा तयार पारिएका समाचारहरूको मूल्यांकन गर्दा, बाह्रदशी गाउँपालिकामा मुस्लिम र मधेशी समुदायका महिलाहरूको न्यायमा पहुँच नपुगेको विषयमा दाहालले तयार पारेको समाचारलाई सर्वोत्कृष्ट ठहर गरेको हो।
प्रेस चौतारी झापाले प्रत्येक ६–६ महिनामा उत्कृष्ट समाचारका आधारमा यो लेखनवृत्ति प्रदान गर्ने निर्णय गरेको छ। यसलाई व्यवस्थित गर्न केन्द्रीय सदस्य सावित्रा दाहाल, मनकुमार गदाल र पत्रकार महासंघ कोशी प्रदेश उपाध्यक्ष अम्बिका भण्डारीलाई कार्यविधि तयार पार्ने जिम्मेवारी दिइएको थियो।