झापा, असार १२ । झापाको बिर्तामोड नगरपालिका–३ अन्तर्गत विराट आदर्श टोलमा १९ लाख रुपैयाँ लागतमा प्लम सहितको पेवर्स सडक निर्माण सम्पन्न भएको छ। देवेन्द्र परियारको घरतर्फ जाने १७५ मिटर लामो उक्त सडक निर्माण नगरपालिकाको आर्थिक सहयोग र उपभोक्ताहरूको सक्रिय सहभागितामा सम्पन्न भएको हो।

विराट आदर्श टोल देवेन्द्र परियारको घरतर्फ जाने सडक उपभोक्ता समितिको नेतृत्वमा सञ्चालन गरिएको योजना अन्तर्गत सडकमा पेवर्स बिछ्याइएकाले दैनिक आवतजावतमा सहजता भएको छ भने दुवै किनारामा पानी निकासका लागि नाली (पलम) निर्माण गरिएकाले वर्षायाममा पानी जम्ने समस्या समाधान भएको स्थानीयवासीहरूले बताएका छन्।

२०८२ साल वैशाख १० गते सुरु गरिएको योजना जेठ १५ गते सम्पन्न गरिएको हो। कुल १२ घरधुरीका करिब ९२ जना स्थानीय प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्। वर्षायाममा हिलो, धुलो र पानीको समस्याले दैनिक सास्ती भोग्दै आएका बासिन्दाले अब सुरक्षित र व्यवस्थित सडक सुविधा पाएको अनुभूति गरेका छन्।
उपभोक्ता समितिको अध्यक्ष सन्तोष उप्रेती, उपाध्यक्ष कल्पना देवी चापागाईं, सचिव बृहस्पति चापागाईं र कोषाध्यक्ष भगीरथा सङ्गौलाको सक्रियतामा सम्पन्न उक्त योजनाले बिर्तामोड–३ मा स्थानीय पूर्वाधार विकासमा योगदान दिएको छ।
वडा नं. ३ का वडा सदस्य हरिप्रसाद बास्कोटाले सडक निर्माणले टोलको विकासमा महत्वपूर्ण टेवा पुर्याएको बताए। “स्थानीय जनसहभागितामा सम्पन्न यो योजना अनुकरणीय छ,” वडा सदस्य बास्कोटाले भने, “यसले बिर्तामोडको टोलटोलमा विकास सम्भव छ भन्ने विश्वास थप बलियो बनाएको छ।”