झापा बिर्तामोड असार १३
वर्तमान समयमा लागुऔषध (Drugs) हाम्रो समाजका लागि एक भयावह ,गम्भीर समस्या र चुनौतीको विषय बनेको छ। विशेषगरी युवावर्ग लागुऔषधको कुलतमा फसेर आफ्नो भविष्य अन्धकारतर्फ धकेलिरहेका छन्। यसको असर केवल व्यक्तिगत जीवनमा मात्र होइन, पारिवारिक ,समाज र सामाजिक संरचनामा पनि गम्भीर रूपले असर परेको छ।

लागुऔषध भनेको के हो?
लागुऔषध भन्नाले ती रासायनिक पदार्थहरूलाई जनाइन्छ जस्ले मानिसमा लत सिर्जना गरी दुर्व्यसनी तुल्याउने वस्तु वा पदार्थ लागु पदार्थ वा औषध हो । सामान्यतया शारीरिक र मानसिक स्वास्थ्य, चेतना र अनुभूतिलाई विकृत तुल्याउने पदार्थलाई लागु पदार्थ भनिन्छ । जसले मानव शरीर र मस्तिष्कमा अस्वाभाविक असर पार्छ। यिनीहरू चिकित्सकीय प्रयोजन बाहेक लतका रूपमा प्रयोग गरिन्छन्, जसले अन्ततः प्रयोगकर्ताको स्वास्थ्य, मनोस्थिति र सामाजिक व्यवहारमा नकारात्मक असर गर्छ मुख्यतय लागुऔषधहरूमा हिरोइन, ब्राउन सुगर, चरेस, गाँजा, डाइजेपाम, नाइट्राभेट, स्म्याक, कोकिन, आदि पर्दछन्।
लागुऔषधको असरहरू के के हुन सक्छन ?
लागू औषधले मानिसको शारीरिक, मानसिक र भावनात्मक स्वास्थ्यमा गम्भीर असर पार्दछ। यसले बिरामीझैँ महसुस गराउने, निद्रा नलाग्ने, आक्रोशपूर्ण व्यवहार देखाउने, रोग प्रतिरोधात्मक क्षमता घटाउने, हृदयघात र मस्तिष्कघातको खतरा बढाउने जस्ता असर पुर्याउँछ। आर्थिक पक्षमा हेर्दा, लागू औषधको लतले मानिस आफ्नो सम्पत्ति बेचेर समेत औषध किन्न बाध्य हुन्छ, जसले परिवारको आर्थिक अवस्था बिगार्नुका साथै चोरी, डकैतीजस्ता आपराधिक क्रियाकलापतर्फ उन्मुख गराउँछ। सामाजिक रूपमा, लागू औषध प्रयोगकर्तालाई समाजले हेप्ने, परिवार विघटन हुने, साथी–सम्बन्ध विच्छेद हुने, र समाजमा अपराध तथा असुरक्षा बढ्ने अवस्था देखिन्छ। युवाहरूले प्रारम्भमा साथीसँग देखेर, रमाइलो वा “एकपटक खाए के हुन्छ र?” भन्ने सोचबाट लागू औषध सेवन गर्न थाल्छन्, जसले पछि गम्भीर लतको रूप लिन्छ। साथीसँगको दबाब, “कूल” देखिनुपर्ने मानसिकता वा कमजोर नदेखिन प्रयोग गर्नुपरेको महसुसले पनि युवाहरू लागू औषधमा फस्छन्। त्यस्तै, घरमा झगडा, अभिभावकीय बेवास्ता, वा हिंसाका कारण मानसिक तनावमा परेका किशोरहरूले त्यस तनावबाट भाग्न लागू औषधको सहारा लिन्छन्। डिप्रेशन, तनाव, ट्रमाजस्ता मानसिक समस्याबाट मुक्ति खोज्ने क्रममा पनि लागू औषध सेवन गरिन्छ, जुन प्रारम्भमा राहत भएझैँ लागे पनि अन्ततः लत बस्छ। बेरोजगारी, लक्ष्यको अभाव, र समयको दुरुपयोग पनि प्रमुख कारण हुन्। सिमावर्ती क्षेत्र वा लागू औषध सजिलै पाइने ठाउँहरूमा यसको जोखिम धेरै हुन्छ, साथै गीत, चलचित्र वा नाटकहरूमा यसलाई “स्टाइल” वा “स्वतन्त्रता”को रूपमा देखाइनुले आकर्षण बढाउँछ। कतिपयले औषधिको रूपमा (जस्तै: पेनकिलर, ट्रामाडोल) सेवन सुरु गरेपछि लत बस्ने गर्छन्, जुन शारीरिक निर्भरता बन्न पुग्छ र सेवन नगर्दा कम्पन, पसीना, चिढचिढोपनजस्ता लक्षण देखा पर्न सक्छन l
रोकथाम के के हुन सक्छन ?
यस समस्याको रोकथामका लागि विद्यालय, कलेज तथा समुदायस्तरमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न आवश्यक छ। युवाहरूलाई मायालु, सहयोगी वातावरण दिनु, परिवार र समाजबाट प्रेम, समर्थन, सल्लाह प्रदान गर्नु पनि अत्यन्त आवश्यक छ। लागू औषधको उत्पादन, तस्करी, बिक्रीमा कानूनी कडाइ गर्नुपर्छ। साथै, उपचार र पुनःस्थापनाको लागि केन्द्रहरूको स्थापना तथा संचालनमा सरकार र सामाजिक संस्थाको सहकार्य हुनुपर्छ।ppतीन तहका सरकारहरूले आ-आफ्नो भूमिकाअनुसार काम गर्न सक्दछन्। जस्तै, स्थानीय तहले विद्यालय र क्लबहरूमार्फत जनचेतना कार्यक्रम सञ्चालन, लागू औषधविरुद्ध स्कुल क्लबको गठन, पुनःस्थापना सेवामा सहयोग, र समुदाय प्रहरी साझेदारीमार्फत निगरानी प्रणाली विकास गर्न सक्छ। प्रदेश सरकारले लागू औषध सम्बन्धी नीति तथा कार्ययोजना निर्माण, पुनःस्थापना केन्द्र (जस्तै: बिराटनगरमा उपचार केन्द्र), मानसिक स्वास्थ्य सेवाको विस्तार, तालिम तथा सेमिनार आयोजना, र प्रदेश प्रहरीलाई आवश्यक स्रोत तथा तालिम उपलब्ध गराउन सक्छ। संघीय सरकारले “लागू औषध नियन्त्रण ऐन २०३३” संशोधन गरी कानूनी कारबाही कडा बनाउने, सिमानाकामा निगरानी तथा अन्तर्राष्ट्रिय सहकार्य (Interpol, UNODC) विस्तार गर्ने, राष्ट्रिय नीति तथा कार्यक्रम सञ्चालन गर्ने, र लागू औषधसम्बन्धी तथ्यांक तथा अनुसन्धानको व्यवस्थापन गर्न सकिन्छ l
अन्त्यमा लागुऔषधको समस्या केवल व्यक्तिको होइन, यो राष्ट्रकै भविष्यसँग जोडिएको विषय हो। यदि आज हामीले यसप्रति गम्भीर भएर काम गरेनौं भने भोलिका दिनहरू अझ भयावह हुनसक्छन्। त्यसैले अब पनि समय छ — आफैँ सचेत बनौं, अरूलाई पनि सचेत बनाऔं, र लागुऔषधमुक्त समाज निर्माणमा योगदान दिऊँ।