बुद्ध एयरको विमान छानबिन गर्न दुई वटा छुट्टाछुट्टै छानबिन समिति गठन

झापा , बिर्तामोड – भद्रपुर विमानस्थलमा अवतरणका क्रममा पुस १८ गते दुर्घटनामा परेको बुद्ध एयरको एटीआर विमानको छानबिन गर्न दुई वटा छुट्टाछुट्टै छानबिन समिति गठन गरिएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सूचना अधिकारी गोकर्णप्रसाद उपाध्यायका अनुसार सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार समिट एयरमा कार्यरत वरिष्ठ क्याप्टेन विनोद पुरीलाई अनुसन्धानकर्ताका रूपमा नियुक्त गर्दै मन्त्रालयस्तरीय छानबिन समिति गठन गरेको हो। गैरसैनिक हवाई उडान नियमावली, २०७१ अनुसार क्याप्टेन पुरीले आवश्यकताअनुसार विषयगत विज्ञहरू समेटी दुर्घटनाको अनुसन्धान गर्ने छन l 

नेपाल नागरिक उड्डयन प्राधिकरणले पनि घटनाको बेग्लै छानबिन प्रक्रिया अघि बढाएको छ।

प्राधिकरणले त्यहाको फ्लाइट सेफ्टी विभागमा एफओआईमा कार्यरत वरिष्ठ क्याप्टेन रूपकुमार सिद्धीको संयोजकत्वमा छानबिन समिति गठन गरेको प्राधिकरणका प्रवक्ता विक्रमराज गौतमले जानकारी दिए । उनका अनुसार समितिमा एएनएसडीका उपनिर्देशक मुकेश दाहाल, फ्लाइट सेफ्टी विभागका उपप्रबन्धक विधान श्रेष्ठ, सेफ्टी म्यानेजमेन्ट डिभिजनका प्रबन्धक लक्ष्मण देवकोटा तथा एरोड्रम सेफ्टीका उपप्रबन्धक योगेश पुडासैनी सदस्य रहेका छन् । समितिले ३५ दिनभित्र प्रतिवेदन निमित्त महानिर्देशक देवचन्द्रलाल कर्णलाई बुझाउनुपर्नेछ ।