झापा, साउन १८ गते / झापाको बुद्धशान्ति गाउँपालिका–६ स्थित गौडा भित्री सडकखण्डबाट अवैध काठ ओसारपसारमा प्रयोग गरिएको ट्र्याक्टर सहित एक व्यक्ति प्रहरीले नियन्त्रणमा लिएको छ।

२०८२ साउन १६ गते साँझ करिब ७:३० बजेको समयमा ईलामबाट झापा तर्फ शंकास्पद रूपमा आउँदै गरेको प्र.१–०१–००१ त ८५६० नम्बरको ट्र्याक्टर इप्रका बुधबारेबाट खटिएको गस्ती टोलीले जाँच गर्दा कानुनी कागजातबिना चिलाउने र सिमल जातको काठ लोड गरिएको भेटिएको हो।ट्र्याक्टर चालक मेचीनगर नगरपालिका–८ निवासी ४४ वर्षीय रञ्जित राजबंशी रहेको प्रहरीले जनाएको छ। नियन्त्रणमा लिइएको काठ ४० थान गोलिया काठ, करिब ४५ क्युबिक फिट बराबरको रहेको जनाइएको छ।
प्रहरीले उक्त ट्र्याक्टर, चालक र काठलाई मिति २०८२ साउन १८ गते आवश्यक कारबाहीका लागि जिल्ला वन कार्यालय झापामा बुझाएको छ।बेलाबेला हुने अवैध काठ तस्करी नियन्त्रण गर्न प्रहरीले चलाएको नियमित गस्ती र चेकजाँचको क्रममा उक्त ट्र्याक्टर पक्राउ परेको हो। प्रहरीले काठको स्रोत र कागजातको थप अनुसन्धान गरिरहेको जनाएको छ