बिर्तामोड, ८ बैशाख – जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक गणेश पौडेललाई नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, इटहरी सुनसरीले कोशी प्रदेशस्तरमा चैत महिनाका उत्कृष्ट प्रहरी घोषित गरेको छ।

प्रहरी निरीक्षक पौडेलले आफ्नो कार्यक्षेत्रमा पूर्ण निष्ठा, व्यावसायिकता र दक्षतापूर्वक ट्राफिक व्यवस्थापनमा उल्लेखनीय योगदान पु¥याएको आधारमा उक्त सम्मान प्रदान गरिएको हो। कार्यालय प्रमुख एसपी विनोद घिमिरेद्वारा हस्ताक्षरित प्रशंसा पत्रमा पौडेलले जिल्लामा संघसंस्था तथा सरोकारवाला निकायहरूसँग समन्वय गर्दै ट्राफिक व्यवस्थापनमा प्रभावकारी भूमिका निर्वाह गरेको उल्लेख छ।
झापा जिल्लामा ट्राफिक नियमको कडाइका साथ कार्यान्वयन, सवारी चालक तथा सहचालकको स्वास्थ्य परीक्षण, लागू पदार्थ सेवन जाँच, विद्यार्थी तथा नयाँ चालकलाई ट्राफिक सम्बन्धी कक्षा सञ्चालन, माइकिङमार्फत जनचेतनामूलक सन्देश प्रवाह, तथा लापरवाहीपूर्ण सवारी चालकलाई कानुनी दायरामा ल्याउने जस्ता कार्यहरू पौडेलको नेतृत्वमा प्रभावकारी ढंगले सञ्चालन गरिएको जनाइएको छ।
उनको सक्रियता, समर्पण र जनहितकारी अभियानले झापामा सवारी दुर्घटना न्यूनीकरणमा सकारात्मक प्रभाव पारेको भन्दै चैत महिनाका लागि उत्कृष्ट प्रहरीको रूपमा छनोट गरिएको हो।
