असार १५, जसलाई हामी “राष्ट्रिय धान दिवस” भनेर मनाउँछौं। कृषि प्रधान हाम्रो देशमा धान जीवनको मेरुदण्डजस्तै हो। यही कारणले, हरेक वर्ष असार १५ लाई उत्सवका रूपमा मनाएर हामीले कृषकहरूको मेहनत, माटोको महत्त्व र परम्परागत संस्कृतिको सम्मान गर्दै आएका छौ l




नेपालको माटो, पानी र पसिनासँग गासिएको आज एउटा विशेष दिन असार १५ हो आज खेतमा उर्लिने जनसागर, दोहोरी गीतको लय, हाँसोको स्वर र हिलोमा रमाउने यी सबै दृश्यले यो दिनलाई अनौठो तर आत्मीय बनाउँछ। हिलो खेल्दै, गीत गाउँदै, पुरुष बाउसे र ब्याडे बन्ने महिला रोपाहार बनेर रोपाइँमा जुट्दा देखिने दृश्य र खेतहरू साच्चै मनमोहक भनेर रमाइरहेको जस्तो लाग्छ।
यस दिनको अर्को मुख्य विशेषता हो – दही र चिउरा खाने खेतमा घण्टौंको मेहनतपछि दही–चिउरा खाँदा त्यो स्वाद केवल जिब्रोमा होइन, मनमा पनि बस्छ। यो खानाले मेहनतको मिठास, साझा संस्कृतिको सुगन्ध र आत्मीयताको अनुभूति दिन्छ।
२०६१ सालदेखि सरकारले औपचारिक रूपमा असार १५ लाई राष्ट्रिय धान दिवसको रूपमा मनाउँदै आएको छ। यसले कृषिमा वैज्ञानिक दृष्टिकोण अपनाउने, आधुनिक प्रविधिको प्रयोग बढाउने, र कृषकको हक–अधिकारप्रति जनचेतना फैलाउने अवसर पनि दिएको छ।
हामीलाई माटो सम्झाउने, मेहनतको मूल्य बुझाउने, र अर्म पर्म र सहकार्यको भावना जागृत गराउने अनि खेतमा पसिना बगाउने हातहरूलाई सम्मान गर्ने र कृषि संस्कृतिलाई जगेर्ना गर्न र भविष्यलाई अझ समुन्नत बनाउन यो दिनले हामीलाई प्रेरणा र हौसला दिन्छ l
अन्यमा असार १५ केवल मिती मात्र सिमित होइन, यो माटोमा माया गर्नेहरूको दिन हो अझ भन्नु पर्दा विषेश चाड हो। यो दिनले हामीलाई बर्ष भरी याद गराउँछ – जहाँ माटो छ, त्यहाँ जीवन छ। हिलोमा हाँसो मिसाउने र परिश्रमलाई पर्व बनाउने र संस्कृतिलाई सम्झाउने यो दिन, हरेक नेपालीको आफ्नै मेहनतमा बाँच्न गर्व गर्न प्रेरित गर्ने दिन हो।