बिर्तामोडमा नवनिर्मित प्रशासनिक भवन उद्घाटन, सभामुख घिमिरेबाट धनीपुर्जा वितरण

बिर्तामोड, झापा असार ३२

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले बिर्तामोड नगरपालिकाको नवनिर्मित प्रशासनिक भवनको उद्घाटन गर्नुभएको छ। मंगलबार एक विशेष समारोहका बीच सभामुख घिमिरेले उक्त भवन उद्घाटन गर्नुभएको हो।

करिब ४ करोड ९९ लाखमा भवन निर्माण सम्पन्न गरिएको नगर प्रमुख पबित्रा महतारा प्रसाइले जानकारी दिनुभयो ।

उद्घाटन कार्यक्रमकै अवसरमा सभामुख घिमिरेले बिर्तामोड वडा नम्बर ७ का तीन जना स्थानीयलाई जग्गाधनी प्रमाण–पुर्जा (धनीपुर्जा) समेत वितरण गर्नुभयो। नगर प्रमुख पवित्रा महतारा प्रसाईको अध्यक्षतामा सम्पन्न भएको थियो। कोशी प्रदेश खानेपानी सिन्चाइ तथा उर्जा मन्त्री एक राज कार्की  उपप्रमुख नगेन्द्र प्रसाद संग्रौला, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, वडाध्यक्षहरू तथा अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।

उद्घाटन समारोहमा सभामुख घिमिरेले नयाँ भवनले नगरवासीलाई सेवा प्रवाहमा सहजता ल्याउने अपेक्षा व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “नयाँ भवन बन्नु मात्र ठूलो कुरा होइन, यहाँबाट सुशासनसहितको सेवा प्रदान हुनुपर्छ।”

त्यसैगरी, सभामुख घिमिरेले भूमि सम्बन्धी समस्या समाधान गर्न विशेष कानुनी व्यवस्था आवश्यक रहेको भन्दै आगामी दिनमा भूमि सम्बन्धी ऐन बनाएर समस्या समाधान गरिने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो।