ममता अधिकारी:-
झापा, बिर्तामोड — “समाजवाद उन्मुख अर्थतन्त्रको निर्माण, कृषि क्षेत्रमा आमूल रुपान्तरण, धान बालीमा सघनता, खाद्य सुरक्षा र आत्मनिर्भरता” भन्ने मूल नारासहित २२औँ राष्ट्रिय धान दिवस झापाको बिर्तामोडमा भव्यतापूर्वक सम्पन्न भएको छ।

अखिल नेपाल किसान महासंघ, अखिल नेपाल महिला संघ र नेकपा (एमाले) बिर्तामोड नगर कमिटीको संयुक्त आयोजनामा बिर्तामोड नगरपालिका वडा नं. ९ स्थित बद्रीबारीमा उक्त कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रमको सञ्चालन किसान महासंघ बिर्तामोड नगर उप–सचिव ज्ञाननाथ दवाडीले गर्नुभएको थियो भने अध्यक्षता नगर अध्यक्ष बिमल तामाङले गर्नुभएको थियो।
कार्यक्रमका प्रमुख अतिथि अखिल नेपाल किसान महासंघ कोशी प्रदेश कमिटी सदस्य कमरेड मातृका न्यौपाने हुनुहुन्थ्यो भने विशिष्ट अतिथिका रूपमा नेकपा (एमाले) कोशी प्रदेश कमिटी सदस्य अमीर लिङ्देनको उपस्थिति रहेको थियो।

कार्यक्रममा नेकपा (एमाले) जिल्ला सचिवालय सदस्य पवित्रा पाठक, बद्री भट्टराई, जिल्ला कमिटी सदस्य लक्ष्मी मोते, द्रौपदी देवी गणेश, नगर कमिटी अध्यक्ष सुवास भट्टराई, नगर उप–प्रमुख नगेन्द्र सङ्ग्रौला, अखिल नेपाल महिला संघ जिल्ला सदस्य भागिरथा आचार्य, क्षेत्रीय कमिटी अध्यक्ष विष्णुमाया कोइराला लगायत बिर्तामोड नगरका विभिन्न कमिटीका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमको स्वागत मन्तव्य महिला संघ बिर्तामोड नगर अध्यक्ष यशोदा प्रसाईले राख्नुभएको थियो। उहाँले कृषि आन्दोलनलाई अझ सशक्त बनाउने संकल्प व्यक्त गर्नुभयो।
कार्यक्रममा प्रमुख अथितिले कृषिलाई आत्मनिर्भर बनाउने, वैज्ञानिक तरिकाले उत्पादन वृद्धि गर्ने, र युवालाई कृषि क्षेत्रमा आकर्षित गर्ने खालका नीति तथा कार्यक्रम तयार पार्नुपर्ने आवश्यकता औंल्याउनुभयो।
कार्यक्रममा किसानहरूले असार १५ को सांस्कृतिक महत्व झल्काउने परम्परागत तरिका अनुसार रोपाईं, धान नाच, तथा स्थानीय खाद्य परिकारहरूको प्रदर्शनीमार्फत कृषि संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने प्रयास गरेका थिए।