
मेचीनगर, झापा — राष्ट्रिय युवा संघ नेपाल, मेचीनगर नगर कमिटीको दोस्रो नगर अधिवेशन आगामी २०८२ साल श्रावण २ र ३ गते मेचीनगर वडा नम्बर १२ स्थित चारआली साना सहरी खानेपानी संस्थाको सभा हलमा भव्य रूपमा सम्पन्न हुने भएको छ। संघको सचिवालय बैठकले उक्त अधिवेशनको मिति र तयारी कार्ययोजना पारित गरेको हो।

अधिवेशनलाई व्यवस्थित बनाउने उद्देश्यले संघले विभिन्न संयोजन समिति गठन गर्दै काम विभाजन गरिसकेको छ। बैठकले प्रत्येक वडा समितिबाट कम्तीमा ५ जना प्रतिनिधि पठाउने निर्णय गरेको छ, जसमा एक जना महिला अनिवार्य रहनेछ। अधिवेशनलाई सफल, सुसंस्कृत र प्रभावकारी बनाउन आवश्यक सम्पूर्ण तयारीहरू अघि बढाइएको नगर अध्यक्ष सुनिल राजवंशीले जानकारी दिएका छन्।