झापा, असार २५ – झापाको बाह्रदशी गाउँपालिकामा मोटरसाइकल र स्कुटर एकापसमा ठोक्किँदा दुःखद दुर्घटना भएको छ। दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने एक महिला र एक बालक गम्भीर घाइते भएका छन्।

बुधबार दिउँसो करिब ३:४० बजे बाह्रदशी–१, खयरबारीस्थित भित्री सडकखण्डमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बीआर ३७ एजेड ६४४० नम्बरको मोटरसाइकल र पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्रदेश १–०१–०१६ प ९२७० नम्बरको स्कुटर एक आपसमा ठोक्किएका थिए।
दुर्घटनामा दुवै सवारीका चालकहरू गम्भीर घाइते भई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर पुर्याइएको भए पनि दिउँसो ४:४० बजे दुबैको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, झापाले जनाएको छ। मृतकहरूको पहिचान खुल्न बाँकी छ र उनीहरूको शव हाल प्रादेशिक अस्पतालमा राखिएको छ।
स्कुटरमा सवार अन्दाजी २५ वर्षीया एक महिला र करिब ७ वर्षका बालक गम्भीर घाइते भएका छन्। उनीहरूलाई थप उपचारका लागि बीएण्डसी अस्पताल, बिर्तामोडमा लगिएको र दुबैको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
दुर्घटनापछि दुबै सवारीसाधन इलाका प्रहरी कार्यालय राजगढको नियन्त्रणमा रहेको छ। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको जनाइएको छ।