प्रधानमन्त्री ओली रास्वपा र माओवादीमाथि खनिएः ‘भ्रष्ट तत्वहरू अफवाह फैलाउँदै हिँडेका छन्, म रास्वपा होइन, माओवादी होइन’

झापा– प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेकपा माओवादी केन्द्रप्रति कडा प्रहार गरेका छन्।

आज झापाको बिर्तामोडमा आयोजित पार्टीको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले ‘भ्रष्ट तत्वहरू’ले आफूविरुद्ध अफवाह फैलाएर हिँडेको आरोप लगाउँदै आफू कुनै पनि गैरकानुनी, भ्रष्ट वा अनैतिक काममा संलग्न नहुने दाबी गरे।

प्रधानमन्त्री ओलीले सहकारीमा जनताको करोडौँ पैसा हिनामिना गर्नेहरू नै ‘अन्याय भयो’ भन्दै हस्ताक्षर अभियान चलाएर हिँडेको बताए।

उनले भने, “हामीले गरिदिएको हो अन्याय? अदालतको आदेशले थुनामा गएका हुन्। अदालतको आदेशमा चित्त नबुझे पुनरावेदन गर्न जानु।”

उनले प्रतिपक्षमा रहेका तत्वहरूले अफवाह फैलाएर हिँडेको र ‘भीरमा लगेर भैँसी चराउन नजान्ने अनि केपी शर्मा ओलीको सरकार नालायक’ भनेर हिँडेको भन्दै आलोचना गरे।

हाल चर्चामा रहेको स्पेन भ्रमणको विषयमा संसदमा भइरहेको हल्लाप्रति पनि उनले असन्तुष्टि व्यक्त गरे। “पत्रकारले सोध्दा प्रधानमन्त्रीलाई सोध्नु भनेको सुन्छु। लाज सरम छैन, आफू बोल्ने अनि प्रधानमन्त्रीले जवाफ दिनुपर्ने?” उनले प्रश्न गरे।

प्रधानमन्त्री ओलीले आफू कुनै पनि गैरकानुनी काम नगर्ने, भ्रष्टाचार नगर्ने र अनैतिक काम नगर्ने दाबी गर्दै भने, ‘म रास्वपा होइन, म माओवादी होइन। आफूले किन बकबास गरेको त्यो जवाफ दिनुपर्‍यो नि।‘

उनले आफू बिनाको एमाले हेर्न चाहनेहरूलाई अझ २४/२५ वर्ष कुर्नुपर्ने बताए। उनले भने, “केपी ओली बिनाको एमाले हेर्न मन भए २४/२५ वर्ष पर्खन। अहिले भर्खर त म ७४ वर्ष पुग्दैछु।”

Leave a Reply