काठमाडौँ – देशभर आज मौसम सामान्यतया बदली रहने भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना छ।

कोशी प्रदेशका केही स्थानमा भारीदेखि अति भारी वर्षाको चेतावनी दिइएको छ। त्यस्तै मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा पनि भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
देशका उच्च पहाडी र हिमाली क्षेत्रका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा वा हिमपात हुन सक्ने सम्भावना छ। कोशी प्रदेशका तराई भू-भाग र मधेश प्रदेशका केही स्थानमा हावाहुरी चल्न सक्ने भएकाले सतर्कता अपनाउन मौसम विभागले आग्रह गरेको छ।

आज राति पनि मौसम आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेश र सुदूरपश्चिम प्रदेशका साथै पहाडी भू-भागका केही स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। यी तीनै प्रदेशका एक-दुई स्थानमा भारी वर्षा पनि हुन सक्ने देखिएको छ।
उच्च पहाडी तथा हिमाली भू-भागमा राति पनि हल्कादेखि मध्यम वर्षा वा हिमपातको सम्भावना छ। मधेश प्रदेशका केही स्थानहरूमा राति हावाहुरी चल्न सक्ने भएकाले सावधानी अपनाउन विभागको आग्रह छ।

हाल देशभर मनसुनी प्रणाली सक्रिय छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास तथा पूर्वतर्फ सामान्यभन्दा केही उत्तरमा अवस्थित रहेको मौसमविदले जनाएका छन्।