गौरादह । गौरादह नगरपालिका वडा नं. ३ का वडाध्यक्ष दिलिप भण्डारी नेकपा एमाले मा औपचारिक रूपमा प्रवेश गरेका छन्। पार्टी प्रवेशको अवसरमा उनलाई नेकपा एमालेका अध्यक्ष तथा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गरेका हुन्।
नेकपा (एमाले) झापा जिल्ला कमिटीका सचिव तुलसी कार्कीका अनुसार भण्डारीलाई पार्टी अध्यक्ष ओली स्वयंले स्वागत गर्दै पार्टीमा प्रवेश गराएका हुन् ।

वडाध्यक्ष भण्डारीले २०७९ सालको स्थानीय तह निर्वाचनमा एमाले समर्थक मतदातामाझ लोकप्रिय रहेका भए पनि पार्टी नेतृत्वले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारको रूपमा उम्मेदवारी दिएका थिए। उनले अत्याधिक मतान्तरले प्रतिस्पर्धीलाई पराजित गर्दै विजयी भएका थिए।
पार्टी प्रवेश पश्चात् बोल्दै भण्डारीले भने, “मैले जनताको अपेक्षा अनुसार सेवा गर्न सकूँ भनेर स्वतन्त्र भएर जितेँ, तर मेरो राजनीतिक र वैचारिक पृष्ठभूमि एमालेकै हो। अब पार्टीमा बसेर अझ सशक्त रूपमा जनताको पक्षमा काम गर्नेछु।”
भण्डारीको एमाले प्रवेशसँगै गौरादह नगरपालिकामा पार्टी संगठन बलियो हुने एमाले नेताहरूको विश्वास छ। स्थानीयस्तरमा एमालेको पकड अझ मजबुत बनाउने अभियानमा भण्डारीजस्तो जनप्रिय व्यक्तित्वको प्रवेशलाई सकारात्मक संकेतका रूपमा हेरिएको छ।
राजनीतिक विश्लेषकहरू भन्छन्, “स्थानीय निर्वाचनमा स्वतन्त्र जितेका जनप्रतिनिधिहरू फेरि मूलधारको राजनीतिमा फर्किनु अहिलेको राजनीतिक प्रवृत्तिको संकेत हो।”
दिलिप भण्डारीको एमाले प्रवेशले झापा जिल्लामा मात्र होइन, देशभर स्वतन्त्र जनप्रतिनिधिहरूको राजनीतिक पुनर्संलग्नताबारे नयाँ बहस सिर्जना गरेको छ। एमालेका लागि यो सुदृढीकरणको संकेत हो भने भण्डारीका लागि संगठनको बलमा जनसेवाको अवसर पनि।