झापा साउन ५ – खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयको वार्षिक समीक्षा गोष्ठी सोमबार मन्त्रालयको सभाहलमा सम्पन्न भएको छ। गोष्ठीमा मन्त्रालयले गत आर्थिक वर्ष २०८१/८२ मा ९४.७० प्रतिशत भौतिक प्रगति हासिल गरेको तथ्यांक सार्वजनिक गरेको छ।

कार्यक्रममा कोशी प्रदेशका खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री एकराज कार्की प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो। प्रदेश योजना आयोगकी सदस्य डा. प्रमिला कुमारी गच्छदार विशेष अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। गोष्ठीको अध्यक्षता मन्त्रालयका सचिव प्रदीप वान्तवा राईले गर्नुभएको थियो भने स्वागत मन्तव्य मन्त्रालयका महाशाखा प्रमुख श्रीकृष्णप्रसाद राजबंशीले गर्नुभयो।
गोष्ठीमा जलस्रोत तथा सिँचाइ विकास डिभिजनका १४ जिल्लाका प्रमुखहरू, भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन विराटनगर, चन्दामोेहना सिँचाइ व्यवस्थापन कार्यालय विराटनगर, कन्काई सिँचाइ व्यवस्थापन कार्यालय झापा र साना सिँचाइ कार्यक्रम (SIP) का प्रमुखहरूको सहभागिता रहेको थियो।
बैठकमा विगत वर्षका उपलब्धि र चुनौतीका साथै आगामी वर्षका प्राथमिकतामा छलफल गरिएको मन्त्रालयले जनाएको छ। मन्त्री कार्कीले प्राविधिक क्षमता, समयमै योजना कार्यान्वयन र जनसहभागितामार्फत आगामी वर्ष अझ प्रभावकारी परिणाम ल्याउने प्रतिबद्धता जनाउनुभएको छ।

