भद्रपुरमा ब्राउन सुगरसहित तीन जना पक्राउ

झापा, साउन ६ । झापाको भद्रपुर नगरपालिका–७ डाँफेचोकबाट ३७ ग्राम ४९० मिलिग्राम लागूऔषध (ब्राउन सुगर) जस्तो देखिने पदार्थसहित तीन जना पक्राउ परेका छन्।

सोमबार बिहान करिब ८ बजे वृत्त प्रहरी कार्यालय भद्रपुरबाट प्रहरी निरीक्षक लोककृष्ण दाहालको नेतृत्वमा खटिएको टोलीले विशेष सूचनाका आधारमा पैदल यात्रुलाई चेकजाँच गर्ने क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा नुवाकोट तादी गाउँपालिका–६ का ३० वर्षीय मनकुमार दर्जी, उनकी २६ वर्षीया श्रीमती शशी खत्री र भद्रपुर नगरपालिका–७ डाँफेचोकका ३० वर्षीय सुनिल चापागाईं रहेका छन्। उनीहरूलाई कालो झोलामा प्लास्टिकमा प्याक गरी ल्याइरहेको उक्त पदार्थसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।

थप अनुसन्धान र कानुनी प्रक्रिया अघि बढाउन उनीहरूलाई जिल्ला प्रहरी कार्यालय झापामा पठाइएको छ।