बिर्तामोड ,झापा /प्राकृतिक विपद्का कारण विभिन्न स्थानमा घाइते हुनेको संख्या बढ्दै जाँदा रगतको मागसमेत बढिरहेको अवस्थामा झापाको बाह्रदशीमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ। नेकपा (एमाले) बाह्रदशी गाउँ कमिटीको आयोजनामा भएको कार्यक्रममा ६० जनाले रक्तदान गरेका छन्।नेपाल रेडक्रस सोसाइटी झापा शाखाको प्राविधिक सहयोगमा सम्पन्न कार्यक्रममा सङ्कलित ६० पिन्ट रगत विपद्का समयमा आवश्यक पर्ने बिरामी तथा घाइतेको उपचारमा उपयोग हुने आयोजकले जनाएको छ।

पछिल्लो समय बाढी तथा अन्य प्राकृतिक विपद्का कारण विभिन्न क्षेत्रमा घाइते हुनेको संख्या बढिरहेका बेला अस्पतालमा रगतको आवश्यकता पनि बढ्ने भएकाले रक्तदान कार्यक्रम आयोजना गरिएको नेकपा (एमाले) बाह्रदशी गाउँ कमिटीका अध्यक्ष अनिल सापकोटाले बताए।‘विपद्को समयमा उपचारका लागि रगतको माग बढ्छ। यस्तो अवस्थामा स्वस्थ व्यक्तिले गरेको रक्तदानले कसैको जीवन बचाउन महत्वपूर्ण भूमिका खेल्न सक्छ,’ सापकोटाले भने, ‘राजनीतिक गतिविधिसँगै मानवीय सेवाका कामलाई पनि प्राथमिकतामा राखेर कार्यक्रम आयोजना गरेका हौँ।’
रक्तदान कार्यक्रममा संविधानसभा सदस्य हरिबहादुर राजवंशी, नेपाल रेडक्रस सोसाइटी झापा शाखाका कोषाध्यक्ष ओमप्रकाश गौतम, राष्ट्रिय स्वतन्त्र पार्टी बाह्रदशीका सभापति सोमनाथ बजगाईँलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
विपद्को समयमा राजनीतिक दल, सामाजिक संस्था र समुदायबीचको सहकार्यबाट मानवीय सेवाका कामलाई प्रभावकारी बनाउन सकिने सहभागीहरूको भनाइ थियो। रक्तदानलाई नियमित अभियानका रूपमा अघि बढाउन सके स्थानीयस्तरमै आवश्यक रगतको व्यवस्थापनमा सहयोग पुग्ने उनीहरूले बताएका थिए।
कार्यक्रम सफल बनाउन राष्ट्रिय स्वतन्त्र पार्टी बाह्रदशी र बाह्रदशी जेसीजले समेत सहयोग गरेका थिए। रक्तदानका लागि व्यक्तिगत रूपमा सहयोग गर्ने विभिन्न व्यक्ति तथा कार्यक्रमको अन्तिम समयसम्म सक्रिय रूपमा खटिएका पार्टीका नेता तथा कार्यकर्तालाई आयोजकले धन्यवाद दिएको छ।त्यस्तै, रक्तदान कार्यक्रम सञ्चालनका लागि स्थल व्यवस्थापन गर्नुका साथै सहभागीका लागि पानी र जुस उपलब्ध गराएकोमा बाह्रदशी गाउँपालिका तथा गाउँपालिका उपाध्यक्ष शान्ता शिवाकोटी खरेलप्रति आयोजकले आभार व्यक्त गरेको छ।
आयोजकले विपद्का कारण घाइते भई उपचाररत सबैको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। साथै आगामी दिनमा पनि आवश्यकता र परिस्थितिअनुसार रक्तदानसहित मानवीय सेवाका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।
रक्तदानजस्तो सेवामूलक अभियानमा विभिन्न राजनीतिक दल, सामाजिक संस्था, स्थानीय तह र सर्वसाधारणको सहभागिता बढाउन सके आकस्मिक अवस्थामा देखिने रगत अभावलाई केही हदसम्म कम गर्न सकिने अपेक्षा गरिएको छ।
