सिटी सफारीमा नेपाल प्रवेश गर्दै गर्दा ७ ग्रामभन्दा बढी खैरो हेरोइनसहित युवक नियन्त्रणमा

झापा, मेचीनगर । लागुऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका–६, पुरानो मेचीपुल नजिकबाट ७ ग्रामभन्दा बढी खैरो हेरोइनसहित एक युवकलाई नियन्त्रणमा लिएको छ।

साउन ७ गते अपराह्न करिब ५:३० बजे भारतको पानी ट्याङ्कीबाट नेपालतर्फ भाडाको सिटी सफारीमा आउँदै गरेका इलाम नगरपालिका–११ बस्ने १८ वर्षीय ईछिङ एक्तेनलाई शंका लागि शरीर तलासी गर्दा मलद्वारबाट सेतो रङको प्लास्टिकको पोका बरामद भएको प्रहरीले जनाएको छ।

पोका खोलेर हेर्दा लिसाईलो पदार्थ भेटिएपछि मान्यता प्राप्त डिजिटल तराजुमा तौल गर्दा ७ ग्राम १३० मिलिग्राम लागुऔषध (खैरो हेरोइन) रहेको पुष्टि भएको हो।

पक्राउ परेका एक्तेनलाई लागुऔषधसहित ईलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।