प्राधिकरणले बनायो विद्युत (समाचारको प्रभाव)


झापा, बिर्तामोड — साउन १३
झापाको बिर्तामोड नगरपालिका–१० स्थित तोरीबारीमा अव्यवस्थित विद्युत् तारका कारण स्थानीय बस्ती जोखिममा परेको भन्ने समाचार प्रकाशित भएको २४ घण्टा नबित्दै समस्या समाधान भएको छ।

पूर्वेली समाचार प्रा.लि. मा मंगलबार ‘विद्युत प्राधिकरणको चरम लापरबाही, तार झुण्डिदाँ आगलागीको जोखिम’ शीर्षकमा समाचार प्रकाशित भएको थियो। समाचारमा स्थानीय सेवाग्राहीको गुनासोलाई उजागर गर्दै नेपाल विद्युत प्राधिकरणले समयमै मर्मतसम्भार नगरेको, झुण्डिएको तार र खतरनाक अवस्थामा रहेको पोलप्रति बेवास्ता गरेको उल्लेख गरिएको थियो।

समाचार प्रकाशित भएपछि सम्बन्धित निकायमा हलचल देखिएको थियो। नेपाल विद्युत प्राधिकरण अनारमनी शाखाले तुरुन्तै अनुगमन टोली खटाई आज बिहानै मर्मत कार्य सम्पन्न गरेको हो। केही घण्टामै सेवा पुनः सुचारु भएसँगै स्थानीयहरूबाट सकारात्मक प्रतिक्रिया आएको छ।

स्थानियवासीहरूले पूर्वेली समाचारलाई धन्यवाद दिँदै यस्ता जनचासोका विषयमा निरन्तर निगरानी गर्न आग्रह गरेका छन्। उनीहरूको भनाइमा, समाचार नै समस्याको समाधानको माध्यम बन्यो।

स्थानीयबासी राम बहादुर घिमिरेले भने, “हामीले पटकपटक प्राधिकरणलाई जानकारी गरायौं तर वास्ता गरिएन। अन्ततः समाचारको माध्यमबाट आवाज उठाउँदा तुरुन्तै समस्या समाधान भयो।”

पूर्वेली समाचारले उठाएको आवाजको प्रभावस्वरूप मात्र २४ घण्टामा विद्युत मर्मत भएको भन्दै स्थानीयहरू खुसी भएका छन्।