रविन्द्र ढाँट बान्टमवेट च्याम्पियन बने, नेपाललाई पहिलोपटक उपाधि दिलाउँदै

झापा ,बिर्तामोड साउन – १८ /भारतको नयाँ दिल्लीमा सम्पन्न म्याट्रिक्स फाइट नाइट (एमएफए) १७ को बान्टमवेट डिभिजनको फाइनलमा नेपालको तर्फबाट प्रतिनिधित्व गरेका रविन्द्र ढाँटले भारतीय प्रतिस्पर्धी चोंगरेंग कोरेनलाई पराजित गर्दै उपाधि जितेका छन्। यस जितसँगै ढाँट एमएफएको इतिहासमा नेपाललाई पहिलोपटक च्याम्पियन उपाधि दिलाउने फाइटर बनेका छन्।

रविन्द्रले आफ्नो आक्रामक रणनीति र कुशल फाइटिङ कौशल प्रदर्शन गर्दै चोंगरेंगमाथि स्पष्ट जित दर्ता गरेका थिए। उनले पहिलो र दोस्रो राउण्डदेखि नै दबाब कायम राख्दै निर्णायक क्षणहरूमा उत्कृष्ट प्रहार र टेक्निक देखाएका थिए। अन्ततः निर्णायकको सर्वसम्मत निर्णयमा रविन्द्र विजयी घोषित भए।

उनको यो जित नेपाली एमएमए (मिक्स्ड मार्सल आर्ट्स) को लागि एउटा ऐतिहासिक मोड सावित भएको छ। अन्तर्राष्ट्रिय स्तरको ठूलो प्रतियोगितामा नेपालको झण्डा फर्फराउँदै रविन्द्रले नेपाली खेलकुदको गौरव बढाएका छन्।

ढाँटको पश्चिमको एउटा गाउबाट शुरु भएको उनको फाइटिंग यात्राले आज अन्तर्राष्ट्रिय रिङमा नेपालको पहिचान स्थापना गरेको छ। उनी मेहनत, समर्पण र दृढ इच्छाशक्तिको जीवन्त उदाहरण बनेका छन्।

सामाजिक सञ्जालमा समेत उनको जितको व्यापक चर्चा भइरहेको छ। खेलप्रेमी, खेल पत्रकारदेखि लिएर विभिन्न संघ-संस्थाले उनलाई बधाई दिइरहेका छन्। नेपाली खेलकुदको इतिहासमा रविन्द्रको नाम अब गौरवपूर्ण ढंगले दर्ज भएको छ।

रविन्द्र ढाँटको सफलताले आगामी दिनमा अन्य नेपाली एमएमए फाइटरहरूलाई पनि प्रेरणा दिने छ।