झापा, बिर्तामोड -साउन ३१ / बिर्तामोड नगरपालिका–३ आदर्श चोकबाट बिर्तामोड–९ हुँदै जाने सहिद चन्द्र मार्गको निर्माण सम्पन्न भएपछि सडक किनारमा हरियाली बनाउने अभियान अन्तर्गत बिरुवा रोप्ने कार्य सुरु गरिएको छ।

शनिबार आयोजित कार्यक्रममा बिर्तामोड नगरपालिकाका उपप्रमुख नरेन्द्र संग्रौलाको प्रमुख उपस्थिति रहेको थियो। भने सो कार्यक्रममा वडा नं ३ का अध्यक्ष मदन बुढाथोकी र वडा नं ९ का अध्यक्ष हरिप्रसाद चम्लागाईंको पनि विशेष सहभागिता रहेको थियो।
उक्त अवसरमा उपप्रमुख संग्रौलाले “सहिद चन्द्र मार्गले स्थानीय आवागमन सहज बनाउनुका साथै नगरको सौन्दर्यीकरणमा समेत योगदान पुर्याउने उल्लेख गर्दै स्थानीय समुदायलाई सडक संरक्षण र हरियाली अभियानमा सक्रिय सहभागिता जनाउन आग्रह गर्नु भयो र रोपिएका बिरुवाको संरक्षण गर्न स्थानिय बासीलाइ अनुरोध गर्नु भयो “l
त्यस्तै वडा नं ३ का अध्यक्ष मदन बुढाथोकीले “यो सडकले बिर्तामोडको मुटु जोड्ने मात्र होइन, हामी सबैको गौरव बन्नेछ। यसलाई हरित र सुरक्षित बनाउन स्थानीयको निरन्तर सहयोग आवश्यक छ” भन्नुभयो।
त्यसैगरी वडा नं ९ का अध्यक्ष हरिप्रसाद चम्लागाईंले “अब सडक मात्र बनेको छैन, यसलाई दीर्घकालीन टिकाउ बनाउन वृक्षरोपण, सरसफाइ र संरक्षणमा सबै नागरिक जुट्नुपर्छ” भन्ने धारणा राख्नुभयो।
बिरुवा रोपणसँगै सहिद चन्द्र मार्गलाई व्यवस्थित, सुरक्षित र हरित मार्गको रुपमा विकास गर्ने लक्ष्य नगरपालिकाले लिएको जनाएको छ।

