झापा । बिर्तामोड–४ स्थित परोपकार वृद्ध आश्रममा सुगम महिला नौमती बाजा सांस्कृतिक समूहले विशेष कार्यक्रम आयोजना गरी हरितालिका तीज मनाएको छ ।

तीजको अवसरमा वृद्धवृद्धाहरुलाई मिष्ठान्नसहित भोजन खुवाउँदै आयोजक समूहले मायाको चिनो हस्तान्तरण गरेको थियो । कार्यक्रममा प्रमुख अतिथि, खानेपानी तथा जलस्रोत मन्त्री एकराज कार्कीले वृद्धवृद्धाप्रतिको सम्मान र सेवाभाव आवश्यक रहेको उल्लेख गर्दै सेवा नै धर्म भएको बताउनुभयो । साथै, लोपोन्मुख नौमती बाजाको संरक्षण र प्रवर्द्धनमा सक्रिय रहेको समूहको कार्यप्रति खुसी व्यक्त गर्दै निरन्तरता दिन सुझाव दिनुभयो ।
समूहकी अध्यक्ष सुधा आचार्यले वृद्धवृद्धाको सेवा, महिला सशक्तिकरण र सांस्कृतिक पहिचान जोगाउने अभियानमा संस्था सदैव प्रतिबद्ध रहने बताउनुभयो । सहभागी वृद्धवृद्धाले आफ्नो जीवन अनुभव सुनाउँदै आयोजकलाई आशीर्वाद दिनुका साथै आभार प्रकट गरे ।
कार्यक्रममा स्वागत मन्तव्य कुसुम पौडेलले राख्नुभएको थियो । यसअघि पनि समूहले महिलालाई सिपमूलक तालिम, स्वास्थ्य शिविर सञ्चालन, परोपकार र सामाजिक सहयोग गर्दै आएको जनाएको छ ।
