झापा, भाद्र – १० ।
नेपाली नारीहरूको महान् धार्मिक पर्व हरितालिका तीज देशभर धुमधामका साथ मनाइँदैछ। भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म मनाइने यो पर्वलाई आस्था, विश्वास र सौभाग्यको प्रतीकका रूपमा विशेष गरी हिन्दू नारीहरुले यस्लाइ मनाउदै आएको पाइन्छ l

धार्मिक ग्रन्थअनुसार हिमालयकी पुत्री पार्वतीले भगवान् शिवलाई पतिका रूपमा प्राप्त गर्नका लागि कठोर तपस्या र निर्जला व्रत बसेकी थिइन्। पिताले भगवान् विष्णुसँग कन्यादान दिन लागेका बेला सखीहरूले पार्वतीलाई लुकाएर सुरक्षित स्थानमा पुर्याए र त्यहीँ उनले भगवान् शिवलाई मनमनै पति पाऊँ भनी व्रत गरेकी थिइन्। त्यही प्रसङ्गबाट “सखीहरूले हरण गरेकी” भन्ने अर्थमा यो पर्वलाई हरितालिका नामकरण गरिएको धार्मिक कथन पाइन्छ।
तीजमा विवाहित महिलाले पतिको दिर्घायु र सुख–समृद्धिको कामना गर्दै व्रत बस्ने परम्परा छ भने अविवाहित कन्याले राम्रो र मनपर्ने वर पाउनका लागि यो व्रत गर्छन्। महिलाहरूले रातभर दियो बालेर शिव–पार्वतीको आराधना गर्ने, कलश स्थापना गर्ने र भोलिपल्ट गोदान गरी व्रत तोड्ने परम्परा रहँदै आएको छ।
तीज पर्व भाद्र शुक्ल द्वितियामा दर खाने प्रथाबाट सुरु हुन्छ। तृतीयाको दिनदेखि महिलाले रातो पहिरन, चुरा, पोते र गरगहनाले सजिएर पानी सम्म नपिइ निराहार व्रत बस्छन l कही कही महिला हरु सामुहिक भेला भै घरैमा पुजा लगाउछन कोही नजिकका शिवालयमा पूजा–अर्चना गर्ने गर्छन्। आज पशुपतिनाथ, गोकर्णेश्वर, हलेसी महादेव, कुशेश्वर महादेव , अर्जुनधारा मन्दिर लगायत देशैभरका विभिन्न शिवालयमा विहानैदेखि दर्शनार्थी महिलाको घुइँचो लाग्ने गर्छ ।
धार्मिक अनुष्ठानसँगै तीजमा रमाइलो, गीत–संगीत र नृत्यको पनि विशेष महत्त्व हुन्छ। परम्परागत रूपमा हिन्दू नारीहरूले मनाउँदै आएको यो पर्व पछिल्ला वर्षहरूमा अन्य धर्म र समुदायका महिलाले पनि हर्षोल्लासका साथ मनाउन थालेका छन्। नेपालमै मुख्यतया मनाइने यो पर्व भारतका केही राज्यमा समेत उल्लासपूर्वक मनाइन्छ।