पानीमा डुबेर तीन बालिकाको मृत्यु

झापा ,बिर्तामोड । गौरदह नगरपालिका–९ खजुरबारीमा शुक्रबार दिउँसो पानीमा डुबी तीन बालिकाको मृत्यु भएको छ ।

 आज अन्दाजी दिउँसो १ बजेर १० मिनेटको समयमा अन्जु मगरकी छोरी ९ वर्षीया स्विकृती मगर र ७ वर्षीया सुस्मा मगर, त्यस्तै सोही टोलकी ११ वर्षीया रोश्नी परियार (रोमन ‘मोते’ परियारकी छोरी) कृष्ण खोलामा माछा मार्न गएका बेला पानीमा डुबी मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनीहरू सँगै गएकी १० वर्षीया युनिसा राईले तीनै जना खोलामा डुबेको देखेपछि तत्काल अभिभावकलाई जानकारी गराएकी थिइन् । सूचना पाएपछि स्थानीयवासीले तीनै जनालाई बाहिर निकाले पनि तिनको घटनास्थलमै मृत्यु भइसकेको थियो ।

घटनाबारे जानकारी पाएलगत्तै अस्थायी प्रहरी चौकी बैगुनधुरा र इलाका प्रहरी कार्यालय झिलझिलेबाट प्रहरी टोली घटनास्थल पुगेको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।