झापा, भाद्र १२ / आज देशभर ॠषि पञ्चमी पर्व आस्था र श्रद्धापूर्वक मनाइँदैछ । हिन्दु महिलाहरूले तीज र हरितालिका व्रत सम्पन्न गरी चौथो दिनका रूपमा मनाइने यस पर्वमा शरीर, मन र आत्माको शुद्धिकरणका लागि उपवास, स्नान र पूजा–अर्चना गर्ने परम्परा रहिआएको छ ।

हिन्दु धर्मग्रन्थअनुसार महिलाले जान अन्जानमा बर्ष भरी गरेका ऋतुशुद्धि सम्बन्धी दोष निवारणका लागि ॠषि पञ्चमीमा सप्तऋषि (कश्यप, अत्रि, भरद्वाज, विश्वामित्र, गौतम, जमदग्नि र वशिष्ठ) को पूजा गर्ने प्रचलन छ । महिलाहरूले बिहानै नदी, तलाउ वा कुण्डमा गई दतिवनले दाँत माझ्ने , गोबर , माटो र तुलसी प्रयोग गरी स्नान गर्ने तथा ऋषिहरूको पूजा आराधना गरी उपवास बस्ने गर्दछन् ।
पौराणिक कथन अनुसार इन्द्रले त्वष्टाऋषिका पुत्र वृत्रको हत्या गरेपछि उनले ब्रह्महत्याको ठूलो पापको दण्ड ब्यहोर्नु पर्यो। त्यस पापबाट मुक्ति पाउन त्यसलाई चार स्थानमा बाँडियो १अग्नि धुँवामिश्रित प्रथम ज्वालामा , २ नदी वर्षाकालको गाँज र मैलोयुक्त पानी , ३ पर्वत जहाँ लस्सेदार वृक्ष उत्पन्न हुन्छन् र ४ स्त्री रजस्वला अर्थात् मासिक धर्ममा। अत: मासिक धर्मका समय अस्पृश्यता रहने हुनाले उक्त अवसरमा छोइछिटो भई लागेको पापबाट छुटकारा पाउनका निम्ति ऋषिपञ्चमीको यो व्रत समस्त महिलाहरूद्वारा लिनुपर्ने सनातन हिन्दू धर्मका शास्त्रमा उल्लेख गरिएको छ।
यस दिन विशेषगरी महिलाहरूले ऋषिहरूप्रति श्रद्धा अर्पण गर्दै आरोग्यता, पवित्रता र पारिवारिक कल्याणको कामना गर्ने चलन रहेको छ । तर पुरुषहरूले पनि यो पर्वमा ऋषिप्रति श्रद्धा व्यक्त गर्दै पूजापाठ गर्ने गरेका पाइन्छ ।
यसदिन पशुपतिनाथ, गोकर्णेश्वर, देवघाट, हलेसी महादेव, जनकपुरलगायत देशका विभिन्न तीर्थस्थलमा आज भक्तजनको भीड देखिएको छ । झापा लगायतका पूर्वी नेपालका क्षेत्रमा पनि महिलाहरू बिहानैदेखि नदी, तलाउमा स्नान गरी पूजा–अर्चना गर्दै ॠषि पञ्चमी मनाइरहेका छन् ।