यही सरकारबाट समृद्धिको यात्रा सम्भव छ  मन्त्री दाहाल

झापा / १२ भाद्र, २०८२

भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले वर्तमान सरकारले समृद्धिको यात्रालाई गति दिएको बताएका छन् । बिहीबार झापाको दमकमा प्रेस चौतारी झापाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री दाहालले विकास र समृद्धिका लागि अहिलेको गठबन्धन निरन्तर रहने विश्वास व्यक्त गरे ।उहाँले देशमा केही भएन भन्नेहरु नागरिकबीच भ्रम फैलाइरहेको आरोप पनि लगाए ।

त्यसअघि मन्त्री दाहालले सडक डिभिजन दमक परिसरमा निर्मित सडक आयोजना कार्यालयको उद्घाटन गरे । उहाँले काँकडभिट्टा–लौकही सडक योजना (पूर्वी खण्ड), दमक, झापाको नवनिर्मित कार्यालय भवन उद्घाटन गर्दै तोकिएको समयमा नै सडक विस्तारको काम सम्पन्न गर्न निर्देशन समेत दिए ।

योजना कार्यालयका प्रमुख सुनिलबाबु पन्तका अनुसार आयोजना सम्पन्न भएपछि सो भवन सडक डिभिजन कार्यालयलाई हस्तान्तरण गरिनेछ ।८ करोड ७ लाख रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको सो भवन उद्घाटन कार्यक्रममा सडक विभागका महानिर्देशक डा. विजय जैशी, एडीबी परियोजना प्रमुख चुडाराज ढकालसहित विभागका अधिकारीहरूको उपस्थिति थियो ।

कार्यक्रमको अध्यक्षता प्रेस चौतारी झापाका उपाध्यक्ष राजु पोखरेलले गरेका थिए भने सञ्चालन कोषाध्यक्ष सरोज भट्टराईले गरेका थिए ।