✍️ ममता अधिकारी
नेपालमा मनाइने तिहार पर्व हिन्दू धर्मावलम्बीहरूको अत्यन्त प्रिय र हर्षोल्लासपूर्ण चाड हो। यसलाई यमपञ्चक पनि भनिन्छ। यो पर्व कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म पाँच दिनसम्म मनाइन्छ। तिहारले मानव, प्रकृति र पशु–पंक्षीबीचको आत्मीय सम्बन्धलाई सम्मान गर्दछ र जीवनमा आरोग्य, समृद्धि तथा भ्रातृत्वको कामना गर्दछ।

यमपञ्चक’ नामले नै यस पर्वको सम्बन्ध मृत्युका देवता यमराज सँग रहेको स्पष्ट हुन्छ। पौराणिक विश्वास अनुसार, यी पाँच दिनमा यमराज आफ्नी बहिनी यमुनाको घरमा बास गर्छन्। यस अवधिमा गरिने पूजा–अर्चनाले अपमृत्युबाट मुक्ति र दीर्घायु प्राप्त हुने जनविश्वास रहिआएको छ।
यस दिन यमराजका दूतका रूपमा कागको पूजा गरिन्छ। कागलाई सन्देशवाहक र शुभ–अशुभ सूचना दिने प्रतीकका रूपमा मानिन्छ। बिहान कागलाई मीठा परिकार दिएर खुसी पारिन्छ।यसै दिन ‘धनतेरस’ अर्थात् ‘धन्वन्तरी जयन्ती’ पनि पर्दछ, जसमा धनकी देवी लक्ष्मी र आयुर्वेदका प्रवर्तक धन्वन्तरीको पूजा गरिन्छ। साँझमा यमदीपदान गर्ने चलन छ, जसले यमयातनाबाट मुक्ति दिने विश्वास गरिएको छ।
यो दिन यमराजका अर्को दूत कुकुरको पूजा गरिन्छ। कुकुर निष्ठा, सुरक्षा र मित्रताको प्रतीक हो। यसदिन कुकुरलाई माला, टीका लगाएर मीठा परिकार ख्वाइन्छ।
यसलाई नरक चतुर्दशी पनि भनिन्छ, जसमा नरकबाट मुक्ति पाउनका लागि यमराजको आराधना गरिन्छ।
बिहान गाईलाई लक्ष्मीको स्वरूप मानेर पूजा गरिन्छ। गाईको दूध, गोबर र गहुँत मानव जीवनका लागि अत्यन्त उपयोगी भएकाले यसलाई पूज्य मानिन्छ।
साँझपख घरघरमा दीपावली गरेर धनकी देवी लक्ष्मीको आराधना गरिन्छ। यस दिन देउसी–भैलो खेल्ने परम्परा छ, जसले दान, आशीर्वाद र शुभकामनाको आदानप्रदान गर्दछ।
यस दिन गोरुको पूजा गरिन्छ। कृषिमा गोरुको योगदान अत्यन्त महत्वपूर्ण भएकाले यस दिन उसप्रति कृतज्ञता व्यक्त गरिन्छ।
यसैदिन गाईको गोबरबाट गोवर्द्धन पर्वतको आकृति बनाई पूजा गरिन्छ।नेवार समुदायमा यो दिन म्ह पूजा (आत्मपूजा) मनाइन्छ, जसमा आफ्नै शरीर र आत्मालाई पवित्र मानेर पूजा गरिन्छ।
यमपञ्चकको अन्तिम दिन दिदीबहिनीले आफ्ना दाजुभाइलाई सप्तरङ्गी टीका लगाई दीर्घायु र समृद्धिको कामना गर्छन्। यो दिन दाजुभाइ र दिदीबहिनीबीचको अटल प्रेम, आत्मीयता र आशीर्वादको प्रतीक हो।
भाइटीकाको उत्पत्ति यमराज र यमुना सम्बन्धी कथासँग जोडिएको छ। कथाअनुसार, यमुनाले आफ्ना दाजु यमराजलाई आफ्नो घरमा निम्त्याएर श्रद्धा–भक्तिपूर्वक पूजा गरी सप्तरङ्गी टीका लगाइदिइन्।
यमुनाको भक्तिबाट प्रसन्न भई यमराजले वरदान माग्न भनेपछि उनले भनिन्
“आजको दिन जसले आफ्नो दिदीबहिनीको हातबाट टीका लगाउँछ, उसको अकाल मृत्यु नहोस् र चेली–माइतीको प्रेम कहिल्यै नटुटोस्।”
त्यसपछि यमराजले उक्त वरदान दिए र त्यही दिनदेखि भाइटीकाको परम्परा सुरु भएको जनविश्वास छ।
सप्तरङ्गी टीका: रातो, सेतो, पहेंलो, हरियो, नीलो, बैजनी र सिन्दुरे गरी सात रंगको टीका लगाइन्छ। यी रंगहरूले भाइको जीवनमा सुख, आरोग्य, सौभाग्य र समृद्धि ल्याउने विश्वास रहन्छ।
मखमली र दुबोको माला: कहिल्यै नओइलाउने मखमली फूल र सधैँ हरियै रहने दुबोले दीर्घायु र अटल प्रेमको प्रतीक दर्शाउँछ।
पूजा सामग्री: बिमिरा, ओखर, तोरीको तेल, दियो, कलश, गणेश र अष्टचिरञ्जीवीहरूको पूजा गरी भाइको कल्याणको कामना गरिन्छ।
भाइटीका केवल धार्मिक अनुष्ठान होइन, पारिवारिक माया, आस्था र सद्भावको उत्सव हो। यसले दिदीबहिनी र दाजुभाइबीचको सम्बन्धलाई अझ गहिरो बनाउँछ, प्रेम र सम्मानको सन्देश दिन्छ।
चेली–माइतीको प्रेम, विश्वास र आस्थाको प्रतीक यस भाइटीकाको पावन अवसरमा,
सर्वत्र सुख, शान्ति, आरोग्य, समृद्धि र दाजुभाइ–दिदीबहिनीबीचको सम्बन्ध
मखमली फूलजस्तै अटल र दुबोजस्तै सधैं हरियो रहोस्।
शुभ भाइटीका!