सबैमा हार्दिक अपिल

नमस्कार,
हाल देशमा विकसित राजनीतिक घटनाक्रमका कारण ठूलो मानवीय क्षति हुनुका साथै देशका महत्वपूर्ण प्रशासनिक संरचना, व्यक्तिगत सम्पत्ति, कलकारखाना, व्यापारी भवनमा अकल्पनीय क्षति पुगेको छ। यस घटनामा हाम्रो कचनकवल गाउँपालिकाको प्रशासनिक भवन तथा वडा कार्यालयहरू समेत खरानी भएका छन्। क्षतिको वास्तविक विवरण अझै आइनसकेको भए पनि यस घटनाप्रति म गहिरो दुःख व्यक्त गर्दछु।
आन्दोलनका क्रममा सहिद भएका प्रिय जिएनजी युवा, सुरक्षाकर्मी तथा ज्यान गुमाउनुभएका सबैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। शोकाकुल परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछु।
युवाले उठान गरेका राजनीतिक, सामाजिक परिवर्तन तथा विधिको शासनमार्फत न्यायपूर्ण समाज स्थापना गर्ने आकांक्षा हाम्रो सामूहिक जिम्मेवारी हो। यसै सन्दर्भमा म आफ्ना विगतका कामको आत्मसमीक्षा गर्दै सबैसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछु।
जनप्रतिनिधिको हैसियतले जनताले दिएको अमूल्य विश्वासका आधारमा काम गर्ने क्रममा कतै कमजोरी भएको भए आत्मआलोचनासहित स्वीकार गर्दै भविष्यमा कुनै पनि जनभावनाविपरीत काम नगर्ने वाचा गर्दछु। यो कठिन परिस्थितिबाट फेरि पनि हामी समाज र देशलाई सुन्दर बनाउन, युवाको सपना साकार पार्न धैर्य र कर्तव्यबोधका साथ अघि बढ्नेछौँ।
म कचनकवलवासी सबैलाई धैर्य रहन, सामाजिक एकता र सद्भाव कायम राख्न, साथै प्रशासनिक रिक्तताको यस अवस्थामा सबै क्षेत्रबाट सहयोग गर्न हार्दिक अनुरोध गर्दछु। सुरक्षा संयन्त्र कमजोर अवस्थामा रहेको हुँदा समाजको सुरक्षा गर्ने जिम्मेवारी तपाईं–हाम्रो काँधमा नै आएको छ।
विधिको शासन र लोकतान्त्रिक शासन व्यवस्थाको जगमा हामी अगाडि बढ्नु छ। लोकतान्त्रिक व्यवस्थामा निर्वाचन नै सबैभन्दा उत्कृष्ट प्रणाली हो, जस मार्फत जनताले सबै राजनीतिक दललाई जाँच्ने अवसर पाउँछन्। यसैले दलगत आस्थाले समाजलाई विभाजित गर्ने होइन, नवीन विचारमार्फत जनताको मन जित्ने काममा सबै दल र नेतृत्व जुट्नुपर्छ।
म सबै राजनीतिक दल, नागरिक समाज, युवा पुस्ता तथा स्वतन्त्र नागरिकलाई शान्ति, एकता र समृद्ध समाज निर्माणतर्फ हातेमालो गर्न हार्दिक अपिल गर्दछु।
यसैबीच, हाल मौसम प्रतिकूल छ। अविरल वर्षाका कारण बिरिङ, मेचि र भुतेनी नदीमा बाढी आउन सक्ने सम्भावना भएकाले सम्भावित क्षतिबाट बच्न सतर्क रहनुहोस्। विपद् व्यवस्थापनमा सबैको सहयोग अपरिहार्य छ।
सबैलाई आश्वस्त गराउन चाहन्छु, हामी छिट्टै प्रशासनिक संयन्त्रलाई पुनः सञ्चालन गर्दै जनताका सेवामा समर्पित रहनेछु l
नबराज भट्टराई
उपाध्यक्ष, कचनकवल गाउँपालिका
मिति : २०८२/५/२९